खाना पकाउने ग्यासको माग ६ गुणा बढेको दाबी, सहज हुन अझै १० दिन लाग्ने

काठमाडौँ । नेपाल आयल निगमले बजारमा ग्यासको आपूर्ति सहज हुँदै गएको दाबी गरे पनि वास्तविक अवस्था भने अझै कष्टकर देखिएको छ ।

माग र आपूर्तिबिचको खाडल फराकिलो हुँदा उपभोक्ताले सहजै ग्यास पाउन सकेका छैनन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि बजारमा खाना पकाउने ग्यासको अभाव देखिनुमा माग बढ्नु र आपूर्ति कमी हुनु मुख्य कारण रहेको निष्कर्ष निकालेको छ ।  व्यवसायीहरूका अनुसार बजार पूर्ण रूपमा सहज हुन अझै १० देखि १२ दिन लाग्ने देखिएको छ । अहिले बजारमा ग्यासको माग अस्वाभाविक रूपमा बढेको छ ।

एभरेष्ट र सुगम ग्यासका डिपो म्यानेजर महेश्वर घिमिरेका अनुसार नियमित खपतको तुलनामा ७५ प्रतिशतदेखि ८० प्रतिशत ग्यास आयात भएको छ । तर दैनिक माग ४०० प्रतिशतले बढेको छ । अहिलेको माग वास्तविक भन्दा अभाव होलाकी भन्ने डरले उपभोक्ताले अत्यधिक सञ्चय गर्दा पनि भएको छ ।

‘कतिपय कम्पनीको माग आपूर्तिको तुलनामा ६ गुणासम्म बढी छ । सुगम र एभरेष्ट ग्यासको मात्रै दैनिक ३१ हजार सिलिन्डरको माग छ, तर आपूर्ति भने करिब ५ हजार मात्र भइरहेको छ,’ घिमिरेले भने ।

एलपी ग्यास उद्योग सङ्घका कार्यसमिति सदस्य एवं लुम्बिनी ग्यास उद्योगका प्रबन्ध निर्देशक विमल कालाखेतीले पनि माग दोब्बर भएको बताए । सामान्य अवस्थामा दैनिक ३ हजार देखि ३ हजार ५०० सिलिन्डर ग्यास माग हुने गरेकोमा अहिले ६ हजार पुगेको उनको भनाइ छ ।

अभाव हुनको कारण के हो ?

व्यवसायीहरूले ग्यास अभाव हुनुमा मुख्य तीन वटा कारण औँल्याएका छन् । जसमा भारतमा टेन्डर प्रक्रिया र ढुवानी समस्या, प्राविधिक र मौसमी अवरोध र सञ्चय गर्ने प्रवृत्तिले बजारमा अहिले ग्यास चरम अभाव सिर्जना भएको उनीहरूको तर्क छ ।

भारतका सरकारी कम्पनीहरूले ५–५ वर्षमा गर्ने बुलेटको नयाँ टेन्डर प्रक्रियाका कारण समस्या आएको हो । भारतीय ढुवानी कर्ताहरूले भारतमै बढी भाडा पाउने भएपछि नेपाल आउने बुलेट कटौती गरेका छन् । साथै भारतको मथुरा रिफाइनरीमा आएको मेसिनरी समस्या र तराईमा लागेको बाक्लो हुस्सुका कारण ग्यास बुलेटहरू समयमै आइपुग्न सकेका छैनन् ।

यसैगरी आसन्न निर्वाचन र विगतको नाकाबन्दीको त्रासका कारण सर्वसाधारणले घरमा २–३ वटासम्म सिलिन्डर भरेर राख्ने प्रवृत्तिले ‘कृत्रिम अभाव’ सिर्जना गरेको व्यवसायी कालखेतीको विश्लेषण छ ।

ग्यासको हाहाकार मच्चिएपछि नेपाल आयल निगमले विशेष पहल सुरु गरेको छ । काठमाडौँमा विशेष गरी एभरेष्ट र नेपाल ग्यासको अभाव देखिएपछि निगमले टेकुस्थित आफ्नो पुरानो कार्यालयबाट बिक्री गर्ने व्यवस्था मिलाएको छ । पहुँचवालाले मात्र ग्यास पाएको गुनासो बढेपछि सर्वसाधारणका लागि यो व्यवस्था गरिएको हो ।

कहिले हुन्छ सहज ?

नेपाल आयल निगमले अघिल्लो महिनाको तुलनामा यस महिना ४ हजार मेट्रिक टन बढी (कुल ५१ हजार मेट्रिक टन) ग्यास उपलब्ध गराएको छ । व्यवसायीहरूका अनुसार नयाँ बुलेट लोड हुने र आउने क्रम सुरु भइसकेको छ ।

‘अहिलेको मागलाई सम्बोधन गर्न केही समय लाग्छ,’ डिपो म्यानेजर घिमिरेले भने, ‘स्थिति सहज हुन अझै ८ देखि १२ दिन लाग्न सक्छ ।’ यता उद्योगी विमल कालाखेतीले पनि एक देखि डेढ हप्ताभित्र आपूर्ति व्यवस्था पूर्ण रूपमा सहज हुने दाबी गरे ।

साथै व्यवसायीहरूले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न र संयमित हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै