एमालेले चुनावको विरोध गरेर आफैँ एक्लिने गल्ती नगरोस्

काठमाडौँ । नेपालको लोकतान्त्रिक यात्रामा पछिल्ला तीन दशकभन्दा बढी समयदेखि दुई परम्परागत दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको शक्ति सङ्घर्ष नै मुलुकको राजनीतिक दशा र दिशा निर्धारण गर्ने मुख्य भाग्य रेखा बन्दै आएको छ । २०४८ सालपछि नेपाली राजनीतिमा यिनै दुई दल पालैपालो सत्तामा पुगे, असफल भए, पुनः सत्तामा फर्किए । यही आवर्तनमा देशका जनताले परिवर्तनको अनेक सपना देखे र धोका पनि व्यहोरे ।

तर, पछिल्ला चौध महिनामा यी दुई दलले सँगै सत्ताको स्वाद चाख्दा मुलुकले इतिहासकै गम्भीर अस्थिरता भोग्यो। सत्ताको सौदाबाजी, स्वार्थ र हठले देशलाई ठूलो ध्वंसको आगोमा धकेल्यो । परिणामतः जेनजी आन्दोलनजस्ता जनअसन्तोषका स्वरहरू उदाए र पुराना दलहरूको विश्वसनीयता धराशायी बन्यो । त्यो समय मुलुक लगभग खरानी बन्ने अवस्था आयो, जसको दायित्वको भार यी दुई ठूला शक्तिमाथि समान रूपले पर्छ ।

तर अहिलेको सन्दर्भमा नेपाली कांग्रेस केही हदसम्म सचेत हुँदै गएको देखिन्छ। यसको नेतृत्वले गल्ती स्वीकार्ने, विनम्रता देखाउने र सुधारतर्फ ध्यान दिने सङ्केतहरू दिएका छन् । भलै यो दल अझै परिपूर्ण भएको छैन । तर त्यसको बाटो सुधारतर्फ मोडिँदै गएको अनुभूति हुन्छ ।

तर अर्कोतर्फ नेकपा एमालेमा त्यस्तो चेतना, आत्मपरीक्षण र सुधारको लक्षण अझै देखिँदैन। खासगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीको अहङ्कार र दम्भले पार्टीको अस्तित्व नै सङ्कटमा पार्दैछ। देशलाई अनेक सङ्कटमा धकेलेर पनि उनी अझै त्यही खरानीमाथि उभिएर विजयगाथा गाउँछन्। जेनजी आन्दोलनका युवा र जनआन्दोलनका स्वरप्रति तिरस्कार देखाएर उनी अझै पुरानो शैलीमा अडिएका छन्। यही प्रवृत्तिले एमालेलाई राष्ट्रिय राजनीतिबाट बिस्तारै असान्दर्भिक बनाउँदै लगिरहेको छ।

ओलीलाई अझै कुन तत्त्वले चलाइरहेको छ, त्यो प्रश्न अझै अनुत्तरित छ। तर स्पष्ट छ कि उनी पार्टीलाई जनताको पार्टीबाट व्यक्ति–केन्द्रित गुटमा परिणत गर्दैछन्। एमालेको अस्तित्व र गौरव धूलोमा मिल्दा अब आत्मसमीक्षा होइन, ताली बजाउनेहरूको वर्चस्व बढ्दैछ।

अहिले देश वक्ररेखामा मडारिएको छ। जनताको धैर्य सकिँदैछ, असन्तुष्टि बढ्दैछ र राष्ट्रलाई स्थिरता चाहिएको छ। यस्तो अवस्थामा मुलुकलाई सहज र सरल रेखामा ल्याउने एक मात्र बाटो भनेको निष्पक्ष र समयमै हुने निर्वाचन हो। देशका सबै शक्ति, नयाँ पुस्ताका आन्दोलनकारीदेखि पुराना दलका सुधारक नेतासम्म, अब चुनावमा जान तयार देखिन्छन्। जनता पनि आफ्नो मतमार्फत नयाँ दिशा दिन आतुर छन्।

तर ओली भने चुनावको विरोध गर्दै छन्। यो विरोध उनमा बढ्दो अलोकप्रियता र पराजयको डरको परिणाम हो। हार्ने निश्चित देखेपछि उनी चुनावलाई नै नकार्दैछन्। तर यसरी चुनावबाट भाग्नु एमालेका लागि आत्मघाती गल्ती सावित हुनेछ। इतिहासले देखाइसकेको छ— जसले जनतालाई लल्कार्छ, त्यो दल अस्तित्वबाटै हराउँछ।

एमाले अहिले आफ्नो अस्तित्वका लागि निर्णायक लडाइँ लड्दै छ । या त उसले ओलीको हठ र दम्भलाई रोक्दै सुधारको बाटो लिन्छ, या इतिहासको पाना बन्ने खतरा मोल्छ। देशलाई सङ्कटबाट निकाल्ने जिम्मेवारी सबै दलको हो तर अहिले एमालेले आफूलाई अलग राख्ने गल्ती गर्यो भने त्यो केवल पार्टीकै नभई देशकै दुर्भाग्य हुनेछ।

समयले एमालेसँग अन्तिम चेतावनी दिँदैछ कि अब पनि नचेत्ने हो भने समयले माफ गर्ने छैन।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै