काठमाडौँ । उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।
बिहानैदेखि सवारीसाधन कुर्दा पनि टिकट नपाएको र ‘रिजर्भ’ गाडीले सर्वसाधारण नबोकेको उनीहरूले गुनासो गरेका हुन् । ओखलढुंगाका कुलबहादुर थापाले विद्यालयमा कार्यरत रहेकाले ढिलो बिदा पाएको र व्यक्तिगत सवारी साधन नभएकाले सार्वजनिक यातायातकै भर पर्नुपरेको बताए ।
उनले बुधवार बिहानैबाट ओखलढुङ्गा जान गाडी कुरेपनि नपाएको बताए । उनकाअनुसार अधिकांश गाडीमा ‘रिजर्भ’ लेखिएको छ र ती गाडीले सर्वसाधारण बोक्न मानेका छैनन् । बस काउन्टरमा जाँदा दल र उनीहरूका नेतासँग सम्पर्क गर्नुस्, टिकट पाइँदैन भनेर आफूलाई पठाएको र अब भोट हाल्न जान नपाइने अवस्था आएको थापाले गुनासो गरे ।
सर्वसाधारण थापाले भने – ‘म एउटा स्कुलमा जागिर गर्छु । त्यो स्कुलले हिजोसम्म पनि बिदा दिएन । मेरो व्यक्तिगत साधन छैन । ओखलढुंगाका लागि आज २० गतेसम्म गाडीहरू पाइन्छन् भने सार्वजनिक यातायात चढेर भोट हाल्न घर जान खोजेको गाडी नै पाइएन । बिहान ४ बजेदेखि गाडी कुरेको अहिलेसम्मपनि गाडी पाइन । गाडीहरू रिजर्भ बाहेक केही लेखेको छैन । रिजर्भ गाडीहरूले हामीहरूलाई लगेनन् । बस काउन्टरमा जाँदा दल र उनीहरूका नेताहरू सम्पर्क गर्नुस् टिकट पाइँदैन भने । अब भोट हाल्न जान नपाइने भयो ।’
कास्कीका दिलीप महतले पनि राजनीतिक दलहरूले आफ्ना समर्थकलाई प्राथमिकता दिएर गाडी रिजर्भ गरेर लैजाँदा समस्या भइरहेको बताए । उनकाअनुसार त्यसरी भोट हाल्न जानेहरूले पनि धेरै दुःख पाइरहेका छन् । दलहरूले सबैजसो गाडी रिजर्भ गर्दा भोटलिस्टमा नाम भएका आफ्ना पार्टीका मान्छेलाई मात्रै गाडी पठाएर लगिरहेको उनले बताए ।
उनकाअनुसार सर्वसाधारणले सवारी नपाउँदा कतिपय मतदाता मतदानबाट वञ्चित हुने अवस्था देखिएको छ । महतले भने –‘हिजोआज उपत्यका छाड्नेहरू धेरै दुःखले भोट हाल्न गएका छन् । भोटलिस्टमा नाम भएका आफ्ना पार्टीका मान्छेहरूलाई मात्रै दलहरूले लिएर गएका छन् । आफ्ना पार्टीका मान्छेलाई मात्रै दलहरूले गाडी पठाएर लगिरहेका छन् । धेरै सर्वसाधारणले भोट हाल्न जान सवारी नै पाएका छैनन् । जसकारण कतिपय भोट हाल्न जान नपाउने अवस्था छ ।’
रामेछापका कुमार बस्नेतले भने सिट नपाए पनि गाडी भने पाइएको बताए । राजनीतिक दलका नेताहरूले रिजर्भका गाडीमा जानुपर्छ भने पनि आफूले अस्वीकार गरेको बताए । बिना टिकट पनि गाडी पाइएको र आफू भोट हाल्न गाउँ जान लागेको उनले सुनाए ।
बस्नेतले भने ‘मैले भोट हाल्न घर जानका लागि टिकट काटेको थिइन । पार्टीहरूले हाम्रा गाडीहरूमा जानुपर्छ भनेका थिए तर म गइन । तर बिना टिकट पनि गाडी पाएँ । भोट हाल्न घर जाँदैछु ।’
सरोकारवालाहरुकाअनुसार निर्वाचनको मुखैमा सार्वजनिक यातायात व्यवस्थापन र दलहरूको संलग्नताबारे उठेका यी गुनासोप्रति सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिएको छ । सर्वसाधारण मतदाताले सहज रूपमा मतदान केन्द्रसम्म पुग्न पाउने अधिकार सुनिश्चित गर्न यातायात व्यवस्थापन पारदर्शी हुन जरुरी छ ।
निर्वाचनका लागि काठमाडौंबाट गाउँ फर्किने यात्रुको चाप

प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्नका लागि संघीय राजधानी काठमाडौंबाट आफ्नो गृहजिल्ला फर्किने नागरिकहरूको क्रम तीव्र रूपमा बढेको छ । अहिले काठमाडौंका बसपार्कहरूमा यात्रुहरूको बाक्लो भीड देख्न सकिन्छ । रोजगारी, अध्ययन र अन्य विभिन्न सिलसिलामा काठमाडौं उपत्यकामा बसोवास गर्दै आएका मतदाताहरू आफ्नो मताधिकार प्रयोग गर्न गाउँ फर्किन थालेका हुन् ।
नयाँ बसपार्क (गोंगबु), कलंकी, कोटेश्वर र बल्खु लगायतका स्थानमा बिहानैदेखि यात्रुहरूको घुइँचो लागेको छ । विशेषगरी लामो दूरीका सवारीसाधनहरूमा टिकट पाउन मुस्किल पर्न थालेको यात्रुहरूले गुनासो गरेका छन् । यातायात व्यवसायीहरूका अनुसार पछिल्लो केही दिनयता उपत्यका बाहिरिने यात्रुको संख्यामा उल्लेख्य वृद्धि भएको छ । यात्रुको चापलाई मध्यनजर गर्दै यातायात व्यवसायी समितिहरूले थप बसहरूको व्यवस्थापन गर्ने प्रयास गरिरहेको बताएका छन् ।
यद्यपि, मागको तुलनामा सवारीसाधन अपुग हुँदा कतिपय यात्रुहरूले महँगो भाडा तिरेर वा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको अवस्था पनि छ । ट्राफिक प्रहरीले पनि उपत्यका बाहिरिने नाकाहरूमा सुरक्षा जाँच कडा पारेको छ भने यात्रुहरूको सहजताका लागि विभिन्न स्थानमा नागरिक सहायता कक्षहरू स्थापना गरेको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने र तोकिएभन्दा बढी भाडा असुल्ने सवारीसाधनलाई कारबाही गरिने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चेतावनी दिएको छ ।
निर्वाचन आयोगले सबै मतदातालाई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरिरहेको बेला नागरिकहरूमा उत्साह देखिएको छ । गाउँ–गाउँमा चुनावी चहलपहल बढेसँगै उम्मेदवारहरू पनि मतदाता फकाउन अन्तिम कसरतमा जुटेका छन् । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै सरकारले बुधवार राति १२ बजेबाट अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ । १२ अघि नै गन्तव्यमा पुगिसक्न आग्रह गरिएको छ ।