छ महिनाभित्र १ लाख ७६ हजार लाइसेन्स वितरण गरिने

भक्तपुर । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी अनुमतिपत्र (लाइसेन्स) वितरणलाई तीव्रता दिँदै छ महिनाभित्र १ लाख ७६ हजार २५० थान लाइसेन्स वितरण गर्ने लक्ष्य तय गरेको छ ।

कार्यालयले सन् २०२२ देखि २०२४ सम्मका सबै तथा २०२५ का केही लाइसेन्स मङ्गलबारदेखि वितरण सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी जीवन बस्नेतका अनुसार पहिलो तीन दिनमा करिब तीन हजार लाइसेन्स वितरण भइसकेको छ ।

उनका अनुसार पहिलो दिन ८०० लाइसेन्स वितरण गरिएको थियो भने त्यसपछि दैनिक करिब एक हजारको हाराहारीमा वितरण भइरहेको छ । आठ जना कर्मचारी बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खटिँदा पनि दैनिक एक हजारभन्दा बढी वितरण गर्न कठिन भइरहेको उनले बताए । यही गतिमा वितरण जारी रहेमा सबै लाइसेन्स वितरण गर्न करिब छ महिना लाग्ने अनुमान गरिएको छ ।

कार्यालयले अझै करिब एक लाख लाइसेन्स छपाइ भएर आउन बाँकी रहेको जनाएको छ। वितरण सुरु भएसँगै चार वर्षदेखि लाइसेन्सको प्रतीक्षामा रहेका सेवाग्राहीको भीड कार्यालयमा बढेको छ । बिहान ७ बजेदेखि नै सेवाग्राहीको लाइन लाग्न थालेपछि कार्यालयले बिहान ९ बजेदेखि वितरण प्रक्रिया अघि बढाउँदै आएको छ ।

सेवाग्राहीलाई अनावश्यक भीड नगर्न आग्रह गर्दै कार्यालयले लाइसेन्सको बिल वा मोबाइल एपमार्फत पनि लाइसेन्स देखाउन सकिने जानकारी दिएको छ ।

लामो समयदेखि नवीकरणका लागि आवेदन दिएका तथा लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीहरू रसिदका आधारमा सवारी सञ्चालन गर्दै आएका थिए । अब क्रमशः लाइसेन्स वितरण सुरु भएपछि उनीहरूको प्रतीक्षा अन्त्य हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै