
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभावका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज (बुधबार) पनि अधिकांश भागमा वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले मनसुनजन्य जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
दिनभरको मौसम अनुमान
हाल सुदूरपश्चिम प्रदेशका पहाडी भूभागसहित बाँकी प्रदेशमा सामान्य बदली रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
विशेषगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना पनि छ।
रातिको मौसम र सतर्कता
आज राति देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले बताएको छ।
मनसुनजन्य वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने भएकाले यात्रा गर्दा वा नदी तथा खोला किनारमा जाँदा विशेष सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।