काठमाडौँ । नेपाल प्रहरीले ३३ किलो सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या आरोपी एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका १७ का ३३ वर्षीय सुरेन्द्र गौतमलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
मोरङ उर्लाबारीका सनम शाक्यलाई १८ फागुन २०७४ मा कुटपिट तथा करेन्ट लगाएर हत्या गरिएको थियो। सुन कारोबारमा संलग्न मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) लाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका गौतमलाई आवश्यक अनुसन्धानका लागि आजै जिल्ला प्रहरी कार्यालय मोरङ पठाइएको जानकारी दिए ।