आगामी मौद्रिक नीति सबै पक्षलाई स्वीकार्य बनाउने राष्ट्र बैंकको तयारी

काठमाडौँ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. राम शरण खरेलले आगामी मौद्रिक नीति सबै सरोकारवाला पक्षलाई स्वीकार्य हुने गरी ल्याउने तयारी भइरहेको बताएका छन् ।

आइबीएन मिडिया एण्ड रिसर्च प्रा. लि. ले सोमबार राजधानीमा आयोजना गरेको ‘प्रि-मनिटोरी पोलिसी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन्।

डा. खरेलका अनुसार, आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति ल्याउने तयारीमा राष्ट्र बैंकले विभिन्न पक्षबाट राय सुझाव संकलन गरिरहेको छ। उनले ती सुझावहरूलाई सम्बोधन हुने गरी नै मौद्रिक नीति ल्याउने तयारी रहेको खुलासा गरे। यसले मौद्रिक नीति निर्माण प्रक्रियामा समावेशिता र सहभागितालाई प्राथमिकता दिइएको संकेत गर्छ।

कार्यक्रममा सीए अनल राज भट्टराईले मौद्रिक नीतिबारे भएका अध्ययन र तथ्यांक समेटिएको कार्यपत्र प्रस्तुत गर्दै जीडीपीमा योगदान गरेका इन्डेक्सहरूको समीक्षा गर्नुपर्ने बेला आएको बताए। उनले अस्थिर राजनीति र सरकारका कारण मौद्रिक नीतिमा असर पर्दै आएकोले आगामी दिनमा मौद्रिक नीतिलाई प्रभावकारी बनाउन केन्द्रीय बैंकले सबै पक्षको राय सुझावलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए।

पूर्व कार्यकारी निर्देशकहरूको सुझाव:

नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नर बहादुर थापाले अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले दिएका सुझावलाई राष्ट्र बैंकले मान्नै पर्ने भए पनि, ती सुझावहरू देशको हितमा हुने गरी मात्र प्रयोग गर्नुपर्नेमा जोड दिए ।

उनले सरकारले बजेटमा समावेश गरेर पछि फिर्ता लिएको ‘टेक एण्ड पे’ जस्तो प्रावधान राखेर मौद्रिक नीति आउन नहुने जिकिर गर्दै दीर्घकालीन सोचका साथ आगामी मौद्रिक नीति सार्वजनिक हुनुपर्ने धारणा राखे।

निजी क्षेत्रको अपेक्षा:

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठले नेपालमा स्थायी रूपमा सञ्चालन हुने निकायहरूमध्ये राष्ट्र बैंक पनि एक भएकाले पाँच वर्षका लागि नियुक्त हुने गभर्नरले ल्याउने मौद्रिक नीति पनि पाँच वर्षको लागि तय हुने गरी नीति बनाउन सुझाव दिए ।

त्यसैगरी, छिमेकी लघुवित्त माइक्रो फाइनान्सका अध्यक्ष रामचन्द्र जोशीले मौद्रिक नीतिले समग्र अर्थतन्त्रलाई प्रभाव पार्ने भएकोले निजी क्षेत्रले दिएका सुझावलाई सम्बोधन हुने गरी आगामी मौद्रिक नीति आउनुपर्नेमा जोड दिए ।

कार्यक्रम आइबीएन मिडिया एण्ड रिसर्च प्रा. लि. का अध्यक्ष हृदयराज गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै