कुलमानलाई धक्का ! उज्यालो नेपाल पार्टीबाट ३ केन्द्रीय सदस्यले दिए राजीनामा

काठमाडौँ । कुलमान घिसिङको नेतृत्वमा रहेको उज्यालो नेपाल पार्टी (उनेपा)का तीन केन्द्रीय सदस्यले पार्टी परित्याग गरेका छन् । राजीनामा दिनेमा समानुपातिक उम्मेदवारसमेत रहेका छन् ।

पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजमले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी दिएका हुन् । उनीहरूले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै पार्टीभित्र आन्तरिक लोकतन्त्र अत्यन्त कमजोर रहेको, विचार, विधि र प्रक्रिया अस्पष्ट भएको तथा पहिचानसम्बन्धी एजेन्डा लिखित रूपमा नसमेटिएको आरोप लगाएका छन् ।

डकेन्द्रसिंह थेगिम कुलमान घिसिङले पार्टी गठन गर्नु अघि प्रदेश नम्बर १ पुनःनामकरण संयुक्त संघर्ष समितिका संयोजक थिए । ज्ञानबहादुर गुरुङ र अमर इजम यसअघि नागरिक उन्मुक्ति पार्टीमा आबद्ध थिए । उनीहरू लामो समयदेखि अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान नामाकरण गर्नुपर्ने मागसहित आन्दोलनको नेतृत्व गर्दै आएका थिए ।

पार्टी परित्यागपछि आफूहरू स्वतन्त्र रूपमा रही संयुक्त पहिचानवादी मोर्चालाई सशक्त बनाउने उनीहरूको भनाइ छ । उज्यालो नेपाल पार्टीबाट डकेन्द्रसिंह थेगिम आदिवासी जनजाति क्लस्टरको तेस्रो नम्बरको समानुपातिक उम्मेदवारसमेत रहेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै