काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधि सभामा आफ्नो पार्टीबाट राई र लिम्बू समुदायको प्रतिनिधित्व हुन नसकेकोमा माफी मागेका छन् । बिहीबार पार्टीद्वारा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सार्वजनिक रूपमा क्षमायाचना गरेका हुन् ।
“म दुःखका साथ क्षमायाचना गर्दै भन्छु, यस पटक हाम्रो पार्टीबाट प्रतिनिधि सभामा राई र लिम्बू समुदायको प्रतिनिधित्व हुन सकेन,” सभापति लामिछानेले भने। उनले पार्टी सभापतिको हैसियतमा आगामी दिनमा समावेशिताको यो महत्वपूर्ण कडीलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
सरकारमा जाने मन्त्रीको टुङ्गो लाग्न बाँकी:
कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले सरकारमा सहभागी हुने मन्त्रीहरूको नामावली अझै टुङ्गो नलागेको स्पष्ट पारेका छन् । पार्टीभित्र को-को सरकारमा जाने भन्ने विषयमा आन्तरिक छलफल भइरहे पनि अन्तिम निर्णय (फाइनल) भई नसकेको उनले जानकारी दिए ।