काठमाडौँ । विश्व राजनीतिमा विरलै देखिने प्रभाव भेनेजुएलाको पुँजी बजारमा देखिएको छ। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो ३ जनवरी २०२६ मा अमेरिकी नियन्त्रणमा परेपछि त्यहाँको स्थानीय सेयर बजार ‘काराकास स्टक एक्सचेन्ज’ मा लगानीकर्ताको अभूतपूर्व उत्साह देखिएको छ।
इन्डेक्समा रेकर्डतोड वृद्धि मादुरो पक्राउ परेपछिको पहिलो कारोबार दिन (सोमबार, जनवरी ५) काराकास स्टक एक्सचेन्जको मुख्य सूचक ‘आईबीसी इन्डेक्स’ (IBC Index) मा १६.४५ प्रतिशतको ऐतिहासिक उछाल आयो। उक्त दिन सूचक ३६७ अंकले बढेर २,५९८ विन्दुमा पुगेको छ, जुन अघिल्लो दिन २,२३१ अंकमा सीमित थियो। यो बजारको लागि वर्षकै सबैभन्दा ठूलो एकदिने वृद्धि हो, जसले लगानीकर्ताहरूमा राजनीतिक परिवर्तनको आशा जगाएको छ । यो वृद्धि भेनेजुएलाको सेयर बजार इतिहासकै सबैभन्दा ठूलो एकदिने वृद्धिको रूपमा हेरिएको छ।
लगानीकर्तामा किन उत्साह ?
लामो समयदेखि आर्थिक संकट र अन्तर्राष्ट्रिय प्रतिबन्ध झेल्दै आएको भेनेजुएलामा मादुरोको गिरफ्तारीलाई लगानीकर्ताले ‘सुखद र बुलिश’ खबरका रूपमा लिएका छन् । राजनीतिक परिवर्तनसँगै अमेरिकी प्रतिबन्धहरू फुकुवा हुने, तेल उद्योगमा सुधार आउने र अर्थतन्त्र पुनः लयमा फर्किने आशाले लगानीकर्ताहरू निजी क्षेत्रका कम्पनीहरूमा झुम्मिएका हुन्।
आजको अवस्था ऐतिहासिक उछालपछिको दोस्रो दिन अर्थात् जनवरी ६ (आज) भने बजार केही शान्त देखिएको छ । ठूलो वृद्धिको भोलिपल्ट बजारमा कुनै ठुलो उथलपुथल देखिएको छैन । हाल लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा रहँदा सूचक २,५९८ अंककै आसपासमा स्थिर देखिएको छ ।
भविष्यको सम्भावना विश्लेषकहरूका अनुसार यो राजनीतिक परिवर्तनले स्थायित्व पाएमा भेनेजुएलाको सेयर बजारले आगामी दिनमा थप नयाँ उचाइहरू छुनेछ। विशेष गरी विदेशी लगानी भित्रिने र बन्द रहेका आर्थिक गतिविधिहरू चलायमान हुने अपेक्षा गरिएको छ । लामो समयको अन्तर्राष्ट्रिय एक्लोपनपछि भेनेजुएलाको पुँजी बजारले विश्व बजारसँग जोडिने ढोका खुलेको रूपमा यसलाई विश्लेषण गरिएको छ ।