अधिक तरलताले ट्रेजरी बिलको डिस्काउन्ट रेट तल्लो स्तरमा, सरकारले १० अर्ब ऋण उठाउने

काठमाडौँ । सरकारले थप १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिलको बोलकबोल मार्फत ५ अर्ब नयाँ र ५ अर्ब नवीकरण ट्रेजरी बिल निष्काशन गर्ने जनाएको छ ।

३६४ दिन अवधिको ट्रेजरी बिलमार्फत ५ अर्ब नयाँ ऋण र १८२ दिन अवधिको ५ अर्ब बराबरको नवीकरण बोलकबोल हुनेछ। बोलकबोल सोमबार दिउँसो २ बजेसम्म खुला रहनेछ भने वितरण मंगलबार हुनेछ। ट्रेजरी बिलको ब्याजदर बोलकबोलमार्फत तय हुन्छ ।

बैंकहरुमा प्रशस्त तरलता रहेकाले ट्रेजरी बिल खरिदमा पनि मागभन्दा निकै धेरै आवेदन पर्ने गरेको छ। सरकारले आन्तरिक ऋण उठाउन जारी गरेको ट्रेजरी बिल खरिदमा बैंकहरुबीच उच्च प्रतिस्पर्धा हुुँदा डिस्काउन्ट रेट घट्दै गएको छ । हाल सबै प्रकारका ट्रेजरी बिलको डिस्काउन्ट रेट साढे २ प्रतिशत भन्दा तल रेहेको छ ।

पछिल्लो पटकको बोलकबोलमा २८ दिने ट्रेजरी बिलमा २.१९ प्रतिशत, ९१ दिनेमा २.३६ तथा ३६४ दिनेमा २.५८ प्रतिशत भारित औसत डिस्काउन्ट रेट तय भएको छ ।बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी २.५९ प्रतिशत र सबैभन्दा कम १.४० प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए ।

अन्य क्षेत्रमा लगानी विस्तार हुन नसक्दा बैंकहरुले सरकारी ऋणपत्रमै लगानी गरेर भए पनि आम्दानी गर्न खोजिरहेका छन्, जसले गर्दा अल्पकालीन ब्याजदरहरु समेत घट्दै गएका हुन् ।

वित्तीय प्रणालीमा ५१ अर्ब ७४ करोड अधिक तरलता, साढे ११ खर्ब लगानीयोग्य रकम

आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग अझै बढ्न सकेको छैन । रेमिट्यान्स आप्रवाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीको निक्षेपमा सुधार भइरहेको छ । निक्षेप बढे बमोजिम कर्जा लगानी नहुँदा वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था छ।

नेपाल राष्ट्र बैंकका अनुसार हाल वित्तीय प्रणालीमा ५१ अर्ब ७४ करोड २१ लाख रुपैयाँ अधिक तरलता छ । अधिक तरलता व्यवस्थापन गर्न बैंकहरुले पछिल्ले समयमा नेपाल राष्ट्र बैंक ऋणपत्र जारी गर्दै आएको छ । आइतबार मात्रै केन्द्रीय बैंकले २५ अर्ब ऋणपत्रमार्फत तरलता खिचेको छ । पछिल्लो एक सातामा मात्रै ऋणपत्र मार्फत ७५ अर्ब तरलता खिचिसकेको छ । प्रणालीमा अधिक तरलताको अवस्था बढ्दै गएपछि बैंकहरुले पनि अल्पकालिन उपकरणहरुमा लगानी बढाउँदै लगेका छन्।

पछिल्लो तथ्यांक अनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरुमा ७६ खर्ब २१ अर्ब बराबर निक्षेप रहेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको बढीमा ९० प्रतिशतसम्म ऋण दिन पाउँछन् । सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ५७ खर्ब १ अर्ब रुपैयाँ छ । उल्लिखित तथ्यांकका आधारमा बैंक तथा वित्तीय संस्थामा ११ खर्ब ५७ अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको देखिन्छ ।

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत नीतिगत दर घटाउनुका साथै घरजग्गा, शेयर, गाडीलगायत क्षेत्रमा कर्जा प्रवाहको नीतिमा पुनरवलोकन गरिसकेको छ । बैंकहरूले ब्याजदर घटाउँदै लगेका छन् । तैपनि कर्जा प्रवाह अपेक्षाकृत बढ्न सकेको छैन । अन्य क्षेत्रमा लगानी विस्तार हुन नसक्दा बैंकहरुले सरकारी ऋणपत्रमै लगानी गरेर भए पनि आम्दानी गर्न खोजिरहेका छन्, जसले गर्दा अल्पकालीन ब्याजदरहरु समेत घट्दै गएका हुन् ।

ट्रेजरी बिल के हो ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् । ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ । बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ ।

बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् । ट्रेजरी बिलको बोल आह्वान गर्दा आह्वान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको हुन्छ ।

ट्रेजरी बिलको बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाइदैन । अप्रतिस्पर्धीको रूपमा बोल गर्दा माग रकममात्र उल्लेख गर्नु पर्दछ, मूल्य उल्लेख गर्नु पर्दैन । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा अप्रतिस्पर्धी बोलवालालाई ट्रेजरी बिल उपलब्ध गराइन्छ । एउटै बोलकबोलमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवैतर्फबाट बोल गर्न भने पाइदैन ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै