काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी दुई हप्ताभित्र आफ्नो पदबाट राजीनामा दिने तयारी गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित भएपछि उनले महानगरको जिम्मेवारी छोड्न लागेका हुन् ।
आज आइतबार बिहान मेयर बालेन र रास्वपा सभापति रवि लामिछानेबीच भएको निर्णायक वार्तामा बालेन रास्वपाको चुनाव चिह्न ‘घण्टी’ लिएर चुनाव लड्ने र उनलाई नै प्रधानमन्त्रीको रूपमा अघि सार्ने सहमति भएको छ । सहमति अनुसार बालेन रास्वपाको संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार हुनेछन् भने रवि लामिछाने पार्टी सभापतिमै कायम रहनेछन् ।
राजीनामा दिनुपर्ने कानुनी कारण: प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नका लागि बहालवाला स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दर्ता गर्नुअघि नै राजीनामा दिनुपर्ने कानुनी प्रावधान छ । सोही अनुसार प्रधानमन्त्रीको दौडमा सामेल हुन बालेनले आगामी माघ ६ गतेभित्रै महानगर प्रमुखको पदबाट राजीनामा दिनुपर्ने बाध्यता रहेको छ ।
काठमाडौँ महानगरपालिकामा बालेनको कार्यकाल अझै करिब १६ महिना बाँकी छ। २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र रूपमा निर्वाचित भई देशभर ‘क्रेज’ बनाएका बालेनले अब राष्ट्रिय राजनीतिमा आफ्नो भूमिका खोज्न लागेका हुन् । यसैबीच, बालेन र रविबीचको यो ‘बृहत् एकता’ ले नेपालको राजनीतिमा नयाँ ध्रुवीकरण ल्याउने र पुराना दलहरूलाई ठूलो चुनौती दिने विश्लेषण गरिएको छ ।