कञ्चनपुर । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–४ मा घरायसी विवादका क्रममा छोराले सौतेनी आमाको हत्या गरेका छन् । मङ्गलवार राति ५० वर्षीय हरिप्रसाद श्रेष्ठले हँसिया प्रहार गरी ७५ वर्षीया बिन्दा श्रेष्ठको हत्या गरेको प्रहरीले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीका अनुसार सामान्य विवाद बढ्दै जाँदा हरिप्रसादले हँसिया प्रहार गरेका थिए। हँसिया प्रहारबाट बिन्दाको घटनास्थलमै मृत्यु भएको हो ।
सोही क्रममा बीचबचाउ गर्न खोज्दा मृतककी नातेदार भगवतीदेवी श्रेष्ठसमेत घाइते भएकी छिन्। उनको हाल दोधारा–चाँदनी अस्पतालमा उपचार भइरहेको छ ।
घटनालगत्तै फरार भएका आरोपित हरिप्रसादको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। प्रहरीले स्थानीयवासीको सहयोगमा सम्भावित क्षेत्रहरूमा निगरानी बढाएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।