विराटागर । कोशी प्रदेशका क्रिकेट खेलाडी मिनाश थापाको निधन भएको छ। कोशी प्रदेश क्रिकेट संघका अनुसार दुर्घटनामा परी उनको निधन भएको हो। थापाले कोशी प्रदेशको क्रिकेट विकासमा पुर्याएको योगदानको स्मरण गर्दै कोशी प्रदेश क्रिकेट संघले उनको निधनप्रति दुःख व्यक्त गरेको छ ।
‘कोशी प्रदेशका एक होनहार, कुशल तथा प्रतिभाशाली क्रिकेट खेलाडी मिनशको दुर्घटनामा परी भएको असामयिक निधनको खबरले सम्पूर्ण क्रिकेट परिवारलाई गहिरो शोकमा डुबाएको छ’ संघले भनेको छ, ‘स्व. मिनशले कोशी प्रदेशको क्रिकेट विकासमा पुर्याएको योगदान सधैं स्मरणीय रहनेछ । उहाँको असामयिक निधनले नेपाली क्रिकेट, विशेषतः कोशी प्रदेशले एक उज्ज्वल भविष्य बोकेको खेलाडी गुमाएको छ। ईश्वरले दिवङ्गत आत्मालाई चिरशान्ति प्रदान गरून् तथा शोकसन्तप्त परिवारजन, आफन्तजन र खेलप्रेमीहरूलाई यो अपार दुःख सहन सक्ने शक्ति प्रदान गरून्। भावपूर्ण श्रद्धाञ्जली ।’
मिनाशले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशबाट खेल्दै आएका छन् । गत संस्करणको पीएम कपमा भने खेलेनन् ।
यता क्यानका सचिव पारस खड्काले पनि थापाको निधनप्रति गहिरो दुःख प्रकट गरेका छन् । उनले भनेका छन्, “कोशी प्रदेशका कुशल तथा अत्यन्त प्रतिभाशाली क्रिकेट खेलाडी भाइ मिनेश थापाको दुर्घटनामा परी असामयिक निधन भएको खबरले हामी सबैलाई गहिरो शोक र स्तब्धतामा पारेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ । ईश्वरले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् तथा परिवारजनलाई यो अपार दुःख सहन सक्ने शक्ति प्रदान गरून् भन्ने कामना गर्दछौँ ।”