हामी जेनजीको रगतमा यशोआराम गर्न आएको होइन, निर्धारित समयमै निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ मा निर्वाचन सम्पन्न गराउनु नै सरकारको प्रमुख दायित्व भएको बताएकी छन् । आफैँले बोलाएको राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र नागरिक समाजका प्रतिनिधिको सोमबारको बैठकमा प्रधानमन्त्री कार्कीले फागुनमा चुनाव सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले निर्धारित समयमा नै निर्वाचन हुने बताएकी हुन् ।

सरकारको कार्यकाल ६ महिना रहेको, संसद्को दुई अधिवेशन बीचको समय र संसद् विघटन भएको ६ महिनाभित्र नयाँ संसद् ल्याउनुपर्ने संवेधानिक बाध्यता रहेको उनको भनाइ छ । ‘६ महिनाको निर्वाचनको कुरा उठ्यो । त्यो समय पनि संविधान सम्मत भएको हुनाले हामीले अन्यथा भन्ने कुरा भएन । सरकाको समय वा संसद्को दुई अधिवेशनको बीचमा ६ महिनाभन्दा बढी सयम हुनुहुन्न भन्ने संविधानको बाध्यकारी व्यवस्था हाम्रासामू छ,‘ उनले भनिन् ।

भदौ २३ र २४ को घटना सोचभन्दा बाहिरको कुरा भएको प्रधानमन्त्रीको भनाइ छ । ‘भदौ २३ र २४ सोच, समझभन्दा बाहिरको कहालिलाग्दो घटना भयो । त्यसपछि एक परिवर्तन आएको छ । सिंगो राष्ट्रले परिवर्तनको आवश्यकता छ भन्ने कुरा महसुस गर्‍यो । अहिलेको चुनौती भनेको युवा वर्गलाई कसरी ‘फ्रन्ट रो’ मा ल्याउने उनीहरूलाई मुलुकको सत्ता, शासनमा अगाडि बढाउने भन्ने धारणा सबैमा आएको छ । सबैमा भावना आयो कि अब परिवर्तन ल्याउनुपर्ने रहेछ,’ उनले भनिन् ।

कुनै पनि राजनीतिक दल चुनावको विरुद्धमा नरहेको प्रधानमन्त्रीको भनाइ थियो।  निर्वाचनमा कुनै पनि सुरक्षा चुनौती नरहेको पनि उनको भनाइ छ । सबै राजनीतिक दलहरू चुनावमा आउन उनको आग्रह थियो । सबै राजनीतिक दलहरू चुनावमा आएमा शान्ति सुरक्षाको चुनौती नहुने पनि उनले बताइन् ।

यस्तै प्रधानमन्त्री कार्कीले यो सरकार जेनजीको रगतमा यशोआराम गर्ने मनसायले नआएको समेत बताएकी छन् । उनले जेनजीको रगतमा यशोआराम गर्न नआएको र नगरेको भन्दै त्यस्तो भन्नेहरुले हिजोको दलहरु र आजको सरकारले गरेको कामको मूल्यांकन गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘यहाँ कसले कस्लाई के दोष लगाउने, हामी अचानो त होइन नि हिजो के त्रुटि भए, जेको परिणाम २३ र २४ को घटना भयो त्यो आवेगलाई हामीले भोगि रहेका छौँ । आज हामी आलोचनाको पाटो जेनजी र राजनीतिक पार्टी दुवैबाट भएका छौँ । त्यसैले हामी अचानो त होईनौँ । तर, जुन किसिमको आक्षेप हामी खेपि रहेका छौँ, त्यसको लागि त तयार छौँ । किनभने त्यो मुलुकको लागि हो । यो देशमा जन्मेर यति वर्ष नुन खाएपछि देशको लागि केही गर्नुपर्छ भन्ने हाम्रो विचारमा छ । हामी जेनजीको रगतमा यशो आराम गर्न आएको होइन । हामीले गरेको पछि छैन । हिजोको दलहरुले जसरी रमाइलो गरेका थिए भने आज हामीले के गरिरहेका छौँ त्यो मूल्याङ्कन गर्नु ।’

यस्तै, उनले सबैभन्दा महान भनेको जनता र जनताको सेवा राजनीतिक दलहरुले गर्नुपर्ने भन्दै जनताको अहिलेको माग के हो त्यो बुझ्न जरुरी रहेको बताइन् । उनले भनिन्, ‘यहाँ हामी न कोही बादी छौँ न प्रतिवादी छौँ । आफ्नो चित्त नबुझेको कुरा राख्नु आफ्नो कुरा हो, कुन दललाई के कुरामा चित्त बुझेको हुँदैन। तर, अखिरमा यो देशको सबैथोक भनेको जनता हो । कुनै पनि राजनीतिक दलभित्र आफ्नो भागबण्डा मिलेन वा केही भयो भने त्यसको नकारात्मक असर जनतालाई दिनु हुँदैन । किनभने सबैभन्दा महान भनेको जनता हो, राजनीतिक दल भनेको दोस्रो कुरा हो । पहिलो कुरा भनेको जनताको सेवा गर्न बसेको हो, जनताको अहिलेको माग के हो त्यो बुझ्नुपर्छ ।’

अहिलेको एउटा चुनौती भनेको युवा वर्गलाई सबैभन्दा अगाडि कसरी ल्याउने र कसरी मुलुकको सत्ता शासन अघि बढाउने भन्ने नै रहेको पनि उनको भनाई छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै