वाणिज्य बैंकहरुको निक्षेप पहिलो पटक ७० खर्ब माथि, फागुनमा मात्रै ५० अर्ब वृद्धि

काठमाडौँ । चालु आर्थिक बर्ष २०८२/८३ को फागुन महिनामा वाणिज्य बैंकहरूको निक्षेप ५० अर्ब सात करोड रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघबाट प्राप्त फागुन मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।

नेपालमा २० वाणिज्य बैंक छन् । गत माघ मसान्तसम्म वाणिज्य बैंकहरूमा ६९ खर्ब ५४ अर्ब ४८ करोड रूपियाँ निक्षेप थियो । फागुन मसान्तसम्म आउँदा त्यो ७० खर्ब चार अर्ब ५५ करोड रुपैयाँ पुगेको हो । वाणिज्य बैंकहरुमा भएको निक्षेप पहिलो पटक ७० खर्ब रुपैयाँमाथि पुगेको हो ।

आठ महिनामा थपियो पौने पाँच खर्ब निक्षेप

चालु आवको आठ महिनामा वाणिज्य बैंकहरूको निक्षेप चार खर्ब ७३ अर्ब ७६ करोड रुपैयाँ थपिएको छ । गत असार मसान्तमा वाणिज्य बैंकहरुको निक्षेप ६५ खर्ब ३० अर्ब ७९ करोड रुपैयाँ थियो । जुन साउन मसान्तमा घटेर ६४ खर्ब ७८ अर्ब ५७ करोड रुपैयाँमा सीमित भयो ।

त्यसपछि निक्षेप बढ्दो क्रममा छ । तथ्यांकअनुसार भदौ मसान्तमा ६५ खर्ब ७२ अर्ब ५१ करोड रुपैयाँ र असोज मसान्तमा ६७ खर्ब ५१ अर्ब ५६ करोड रुपैयाँमा निक्षेप कायम भएको थियो ।

कात्तिक मसान्तमा ६७ खर्ब ५४ अर्ब ७९ करोड, मंसिर मसान्तमा ६८ खर्ब १४ अर्ब ४९ करोड, पुस मसान्तमा ६९ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ र माघ मसान्तमा ६९ खर्ब ५४ अर्ब ४८ करोड रुपैयाँ निक्षेप कायम भएको छ । फागुन मसान्तसम्म आउँदा त्यो ७० खर्ब चार अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।

ऋण दिन मिल्ने पैसा कति ?

वाणिज्य बैंकहरूसँग ऋण दिन मिल्ने रकम भने ११ खर्ब ४० अर्ब  रुपैयाँ छ । वाणिज्य बैंकहरूको औसत सिडी रेसियो ७३.७३ प्रतिशत छ । सिडी रेसियो ९० प्रतिशतसम्म पुग्ने गरि कर्जा प्रवाह गर्न पाइन्छ । त्योअनुसार अझै निक्षेपको १६.२७ प्रतिशत रकम ऋण दिन मिल्छ । ७० खर्ब निक्षेप हुँदा ऋण दिन मिल्ने पैसा १३ खर्ब ४० अर्ब कायम हुने देखिन्छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै