चुनावी हारको ‘ह्याट्रिक’ पछि रवीन्द्र मिश्रको घोषणा: दलीय राजनीतिबाट बिदा, राप्रपाबाट राजीनामा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिने घोषणा गरेका छन् । काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा लगातार तेस्रो पटक पराजित भएपछि मिश्रले यस्तो निर्णय लिएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो वक्तव्य जारी गर्दै पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको र अब ‘स्वतन्त्र’ नागरिकका रूपमा वैचारिक अभियानमा रहने जानकारी दिएका छन् ।

मिश्रलाई राष्ट्रिय स्वतन्त्र पार्टीका रञ्जु दर्शना न्यपानेले मिश्रलई फराकिलो मतान्तरले पराजित गरेकी हुन् । रञ्जुले कुल १५ हजार ४५५ मत प्राप्त गर्दा तेस्रो स्थानमा रहेका मिश्रले जम्मा ३ हजार ९७२ मत मात्र पाउन सके । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६,३६४ मत ल्याएपनि जितका लागि प्रयाप्त हुन सकेन ।

हारको ह्याट्रिक र राजीनामाको पृष्ठभूमि

देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेयताका तीनवटै संसदीय निर्वाचनमा मिश्र काठमाडौँ–१ बाट उम्मेदवार बनेका थिए। साझा पार्टी, विवेकशील साझा र राप्रपाको यात्रा तय गर्दा पनि उनले चुनावी नतिजा आफ्नो पक्षमा पार्न सकेनन् ।

आफ्नो निर्णयबारे मिश्रको भनाइ:

“मैले आज जे निर्णय लिँदै छु, त्यो कुनै निराशा वा हतारमा लिएको होइन। राजसंस्था पुन:स्थापनाको पक्षमा व्यापक जनमत हुँदाहुँदै पनि राप्रपाले त्यसलाई संगठित र पुँजीकृत गर्न सकेन । पार्टीको वरिष्ठ उपाध्यक्षको हैसियतले यस विफलताको जिम्मेवारी म पनि लिन्छु ।”

मिश्रका दुई मुख्य निर्णयहरू:

१. पार्टी परित्याग: आजैका मितिदेखि लागू हुने गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सम्पूर्ण जिम्मेवारी र पदबाट राजीनामा ।

२. स्वतन्त्र अडान: राजसंस्था पुन:स्थापना र सुशासनका मुद्दामा आफ्नो अडान यथावत् रहने र तत्कालका लागि गैर-दलीय (स्वतन्त्र) रूपमा वैचारिक पैरवी जारी राख्ने ।

रास्वपालाई बधाई र ‘प्रचण्ड पथ’ प्रति चिन्ता

मिश्रले प्रतिनिधिसभा निर्वाचनमा अभूतपूर्व सफलता हासिल गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएका छन्। तर, उनले नेपाली राजनीतिको वर्तमान दिशाप्रति संशय व्यक्त गर्दै भनेका छन्, “‘प्रचण्ड पथ’ मा पट्टी लगाएको घोडा सरह एकोहोरिएर दौडिरहेको नेपाली राजनीति तातो तावाबाट भुङ्ग्रोमा नजाओस् भन्ने कामना गर्दछु।”

९ वर्षको उतारचढावपूर्ण राजनीतिक यात्रापछि मिश्रले ‘देशभन्दा माथि स्वार्थ’ नराख्ने संकल्प गर्दै आफूलाई साथ दिने स्वदेश तथा विदेशमा रहेका शुभचिन्तकहरूप्रति आभार प्रकट गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै