काठमाडौँ । निर्माण व्यवसायीहरुको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान)को २६औँ साधारणसभा तथा १३औँ अधिवेशन मंगलबारबाट सुरु हुँदैछ । चैत १७ गते उद्घाटन भएर १८ र १९ गतेसम्म चल्ने साधारणसभा र अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले आकांक्षीहरुले प्यानलनै बनाएका छन् ।
अध्यक्षमा हालका सल्लाहकार निकोलश पाण्डे र वरिष्ठ उपाध्यक्ष आङदोर्जे (एडी) लामाबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । उनीहरुले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्न लागेका हुन् । पाण्डेको समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्वल गौतम चुनाव लड्ने बताइएको छ ।
यसैगरी, लामाको पक्षबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठले प्रतिस्पर्धा गर्न लागेको चर्चा छ ।
महासंघको अधिवेशन काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ । अध्यक्ष रवि सिंहका अनुसार अझैपनि सहमतिबाटै नेतृत्व चयनको लागि छलफल जारी रहेको छ ।
यसअघि माघ १५ देखि १७ गतेसम्म हुने तय भएको महासंघको साधारणसभा र अधिवेशन फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको आचारसंहिताका कारण धकेलिएको हो । साधारणसभा र अधिवेशनका लागि अहिले देशभरीबाट प्रतिनिधिहरु काठमाडौँ आउने क्रम सुरु भइसकेको छ ।