

काठमाडौं । कुवेतको रक्षा मन्त्रालयले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका इरानी ड्रोन निष्क्रिय पार्ने क्रममा खसेको भग्नावशेष लागेर दुई इटालियन नागरिकको मृत्यु भएको जनाएको छ । घटनामा घाइते भएका अन्य दुईजनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।
यसैबीच, इरानले आक्रमणमा आफ्नो संलग्नता रहेको आरोप अस्वीकार गरेको छ । इरानीमन्त्री अब्बास अराघचीले आफ्ना इटालियन र कुवेती समकक्षीसँगको टेलिफोन वार्तामा समवेदना व्यक्त गरेका हुन् ।
इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीसँगको टेलिफोन वार्तामा अराघचीले उक्त घटनामा इरानको संलग्नता नरहेको स्पष्ट पारे । कुवेती समकक्षीसँगको टेलिफोन वार्तामा इरानी विदेशमन्त्री अब्बास अराघचीले तेहरानको संलग्नता अस्वीकार गरेका हुन् । इरानको सशस्त्र बलले पनि घटनाको जिम्मेवारी अस्वीकार गरेको छ ।
अराघचीले कुवेतमा दुई इटालियन नागरिकको मृत्यु भएको घटनाप्रति समवेदना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समा उनले घटनालाई ‘शंकास्पद’ भन्दै युद्धका लागि पहिल्यै तयार पारिएको बहानाजस्तो देखिएको टिप्पणी गरेका छन् । घटनाको वास्तविक कारण पत्ता लगाउन कुवेत र इटालीसँग सहकार्य गर्न इरान तयार रहेको पनि उनले बताएका छन् ।