

काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको एनटी फाइबर सेवाप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ । एउटै माध्यमबाट उच्च गतिको इन्टरनेट र टेलिफोन सेवा लिन सकिने भएपछि सेवाको माग बढेको टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार सेवाग्राहीको बढ्दो मागलाई सम्बोधन गर्न नयाँ जडान प्रक्रियालाई छिटो र प्रभावकारी बनाउने तयारी भइरहेको छ । यसका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम अघि बढाइएको कम्पनीले जनाएको छ ।
कम्पनीले शुक्रबार विज्ञप्ति जारी गर्दै केही कार्यालयमा नयाँ जडानका लागि ग्राहकको चाप उच्च रहेको जानकारी दिएको छ । ती स्थानमा सेवा विस्तार र व्यवस्थापनलाई थप व्यवस्थित बनाउन प्राथमिकताका साथ काम भइरहेको टेलिकमको भनाइ छ ।
बढ्दो मागका कारण आवश्यक उपकरण तथा सामग्रीको अभाव हुन नदिन पनि कम्पनी सक्रिय रहेको जनाएको छ । सरकारी स्वामित्वको संस्था भएकाले सार्वजनिक खरिद तथा आपूर्ति व्यवस्थापनका आवश्यक प्रक्रिया पूरा गरेर सेवा प्रवाहलाई निरन्तरता दिइरहेको विज्ञप्तिमा उल्लेख छ ।
सेवाग्राहीको सकारात्मक प्रतिक्रिया र विश्वासले सेवा विस्तार तथा गुणस्तर सुधारमा थप प्रेरणा मिलेको भन्दै टेलिकमले मागअनुसार सेवा जडान गर्दै गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।