नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलमा पल्स अवधि परिवर्तन

काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय कल गर्दा लाग्ने पल्स अवधि परिवर्तन गरेको छ । अब नेपाल टेलिकमको सेवा प्रयोग गरी विश्वका सबै देशमा अन्तर्राष्ट्रिय कल गर्दा ६० सेकेन्डको पल्सका आधारमा शुल्क गणना हुने भएको छ ।

यसअघि अन्तर्राष्ट्रिय कलमा ३० सेकेन्डको पल्स अवधि लागू हुँदै आएको थियो । तर अबदेखि सबै देशका लागि ६० सेकेन्डको पल्स अवधि कायम गरिएको नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको गत भदौ २४ गतेको निर्णयअनुसार प्राप्त स्वीकृतिका आधारमा पल्स अवधि परिवर्तन गरिएको हो ।

दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि नयाँ व्यवस्था लागू गरिएको टेलिकमले जनाएको छ ।

यसअघि २०८२ फागुन १ गतेको निर्णयअनुसार प्राप्त स्वीकृतिका आधारमा ५८ देशमा ६० सेकेन्डको पल्स अवधि लागू गरिएको थियो । अब बाँकी देशमा समेत आजदेखि नयाँ व्यवस्था लागू भएको हो ।

नेपाल टेलिकमले विभिन्न देशमा अन्तर्राष्ट्रिय कल गर्नका लागि छुट्टाछुट्टै पहुँच सङ्केत (एक्सेस कोड) उपलब्ध गराउँदै आएको छ । अन्तर्राष्ट्रिय कल गर्दा सुरुमा सम्बन्धित पहुँच सङ्केत र त्यसपछि देशको कोड राखेर सेवा प्रदायकको नम्बर डायल गर्नुपर्ने व्यवस्था छ ।

विभिन्न देशमा अन्तर्राष्ट्रिय कल गर्दा लाग्ने शुल्कबारे नेपाल टेलिकमको आधिकारिक वेबसाइटबाट जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै