

काठमाडौं । साउदी अरबको राजधानी रियादको वित्तीय जिल्ला (फाइनान्सियल डिस्ट्रिक्ट) मा रहेको सबैभन्दा अग्लो टावरमा एक साताभन्दा कम समयमा दोस्रो पटक आक्रमण गरिएको छ।
साउदी नेतृत्वको सैन्य गठबन्धनले रियादको फाइनान्सियल डिस्ट्रिक्ट क्षेत्रमा रहेको एक टावरलाई निसाना बनाइएको पुष्टि गरेको छ।
यसअघि समाचार एजेन्सी एएफपीले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै साउदी पब्लिक इन्भेस्टमेन्ट फन्डको टावरमा आक्रमण भएको जनाएको थियो।
यमनमा हुथी विद्रोहीहरूसँग लडिरहेको साउदी नेतृत्वको गठबन्धनका प्रवक्ता तुर्की अल-मलिकीले सामाजिक सञ्जालको एक पोस्टमार्फत भने ‘वित्तीय केन्द्र (रियाद) को एक टावरलाई एक कायरतापूर्ण आतङ्कवादी हमलामा निसाना बनाइएको छ। अधिकारीहरूले घटनास्थलको अनुसन्धान गरिरहेका छन्।’
गत बिहीबार पनि हुथी क्षेप्यास्त्र आक्रमणपछि यस टावरमा क्षति पुगेको थियो।