बीमा क्षेत्रमा ठुलो फड्को: जीवन बीमाकोष ८ खर्ब ७० अर्ब नाघ्यो

काठमाडौँ । नेपालको बीमा क्षेत्रको सञ्चित कोषमा उल्लेख्य वृद्धि देखिएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्ममा १४ वटा जीवन बीमा कम्पनीहरूको कुल जीवन बीमाकोष ८ खर्ब ७० अर्ब ६७ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यो कोष ७ खर्ब ४१ अर्ब २२ करोड ३६ लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष कोषको आकारमा १७.४६ प्रतिशतको उत्साहजनक वृद्धि देखिएको हो । बीमाकोषको आकार बढ्नुले बीमितको सुरक्षा र कम्पनीहरूको दाबी भुक्तानी क्षमता अझ सुदृढ भएको संकेत गर्दछ ।

कोषको आकार: कुन कम्पनी कति बलियो ?

नेपालका जीवन बीमा कम्पनीहरूमध्ये कोषको आकारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अग्रस्थानमा देखिएको छ । कम्पनीको जीवन बीमाकोष २ खर्ब ५५ अर्ब ९ करोड ६६ लाख रुपैयाँ पुगेको छ।

दोस्रो स्थानमा एलआईसी नेपाल रहेको छ जसको बीमाकोष १ खर्ब ३९ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ रहेको छ। तेस्रो स्थानमा नेशनल लाइफको बीमाकोष ९७ अर्ब ५६ करोड २६ लाख रुपैयाँ पुगेको छ।

धेरै बीमाकोष भएका पाँच कम्पनी निम्न रहेका छन् ।

क्र.सं कम्पनीको नाम बीमाकोष (रुपैयाँमा)
नेपाल लाइफ २ खर्ब ५५ अर्ब ९ करोड
एलआईसी नेपाल १ खर्ब ३९ अर्ब ८८ करोड
नेशनल लाइफ ९७ अर्ब ५६ करोड
हिमालयन लाइफ ८२ अर्ब ८९ करोड
राष्ट्रिय जीवन बीमा कम्पनी ६५ अर्ब ७३ करोड

 

अन्य ९ कम्पनीहरूको कोष ११ अर्बदेखि ५० अर्ब रुपैयाँको बीचमा रहेको छ । पुस मसान्तसम्म हिमालयन लाइफ इन्स्योरेन्सको बीमाकोष ८२ अर्ब ८९ करोड ९७ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीको ६५ अर्ब ७३ करोड ५० लाख रुपैयाँ, एशियन लाइफको ५० अर्ब ८५ लाख रुपैयाँ र सूर्यज्योति लाइफको ४६ अर्ब १७ करोड १० लाख रुपैयाँको बीमाकोष रहेको छ ।

त्यसैगरी मेट लाइफको ३१ अर्ब ९ करोड ३९ लाख रुपैयाँ, सिटिजन लाइफको २२ अर्ब ८१ करोड ७१ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको २१ अर्ब ९० करोड ३४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफको १५ अर्ब ८५ करोड ४ लाख रुपैयाँ, आइएमई लाइफको १५ अर्ब ३५ करोड ९३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफको १५ अर्ब २४ करोड १३ लाख रुपैयाँ र सन नेपाल लाइफको ११ अर्ब ४ करोड ७९ लाख रुपैयाँ बीमाकोष कायम भएको छ।

वृद्धिदरमा आइएमई लाइफको रेकर्ड

कोषको कुल आकारमा नेपाल लाइफ अगाडि भए पनि वृद्धिदरको हिसाबले नयाँ जीवन बीमा कम्पनीहरूले आक्रामक फड्को मारेका छन् । वृद्धिदरका आधारमा हेर्दा आइएमई लाइफको जीवन बीमाकोष सबैभन्दा धेरै वृद्धि भएको छ । त्यसपछि सिटिजन लाइफ र प्रभु महालक्ष्मी लाइफको जीवन बीमाकोष सबैभन्दा धेरै वृद्धि भएको देखिन्छ ।

आइएमई लाइफ: सबैभन्दा धेरै ४१.२७% वृद्धिदर।

सिटिजन लाइफ: ३५.३९% वृद्धि।

प्रभु महालक्ष्मी लाइफ: ३३.३१% वृद्धि।

रिलायबल नेपाल लाइफ: ३२.१६% वृद्धि।

सानिमा रिलायन्स लाइफ: ३१.९२%  वृद्धि ।

यसको विपरित पुराना र ठुला कम्पनीहरू एलआईसी नेपाल (९.९०%) र राष्ट्रिय जीवन बीमा कम्पनी (६.०५%) को वृद्धिदर भने औषतभन्दा कम देखिएको छ ।

पुस मसान्तसम्म नेशनल लाइफको जीवन बीमाकोष २५.१६ प्रतिशत, सन नेपाल लाइफको २३.१७ प्रतिशत र सूर्यज्योति लाइफको जीवन बीमाकोष २२.३६ प्रतिशतले बढेको छ ।  त्यस्तै हिमालयन लाइफको १७.७५ प्रतिशत, नेपाल लाइफको १७.४८ प्रतिशत, मेट लाइफको १३.८१ प्रतिशत, एशियन लाइफको ११.९१ प्रतिशतले बीमाकोष वृद्धि भएको छ ।

के हो जीवन बीमाकोष ?

जीवन बीमाकोष भनेको बीमितहरूले तिरेको प्रिमियमबाट दाबी भुक्तानी र अन्य दायित्वका लागि छुट्टै सञ्चित गरिएको रकम हो । नेपाल बीमा प्राधिकरणका अनुसार यो कोष बीमा कम्पनीहरूको मेरुदण्ड हो, जसले बजारमा बीमितको विश्वास कायम राख्न मद्दत गर्छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै