बनेपा । अविरल वर्षाका कारण बीपी राजमार्गका विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सनहरू बगाएपछि सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार राजमार्गको कटुन्जे–मङ्गलटार सडकखण्ड अन्तर्गत घुमाउने लगायतका स्थानमा रहेका डाइभर्सनहरू बाढीले बगाएको हो। सडक अवरुद्ध भएपछि दर्जनौँ सवारी साधन र यात्रुहरू बीच बाटोमै रोकिएका छन् ।
प्रहरीले सडक मर्मत गरी यातायात सुचारु गर्न समय लाग्ने जनाएको छ। सम्भावित जोखिम र सास्तीलाई मध्यनजर गर्दै सडकको अवस्थाबारे पूर्वजानकारी लिएर मात्र यात्रा तय गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले सर्वसाधारणमा अनुरोध गरेको छ ।