काठमाडौँ । नेपाल सरकार ले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा ६ खर्ब ६५ अर्ब २ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
अर्थ मन्त्रालय का अनुसार माघ २९ गतेसम्म संकलित राजस्व गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.४५ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिमा ६ खर्ब ४२ अर्ब ८५ करोड ३९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । सरकारले माघ मसान्तसम्म ८ खर्ब १३ अर्ब ६३ करोड १२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा हालसम्म लक्ष्यको ८१.६१ प्रतिशत मात्र संकलन भएको छ ।
भन्सार महसुलतर्फ १ खर्ब ३५ अर्ब ३२ करोड ३९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो शीर्षकमा सरकारले १ खर्ब ७० अर्ब ५० करोड २० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो, जुन लक्ष्यको ७९.३७ प्रतिशत मात्रै हो ।
त्यसैगरी मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ १ खर्ब ९६ अर्ब ४४ करोड १७ लाख रुपैयाँ संकलन भएको छ । यस अवधिमा २ खर्ब १७ अर्ब २१ करोड ८५ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको थियो ।
अन्तःशुल्कतर्फ १ खर्ब ५ अर्ब ४३ करोड ६० लाख रुपैयाँ संकलन भएको छ । यस शीर्षकमा १ खर्ब १५ अर्ब ९८ करोड ७७ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको थियो । विश्लेषकहरूले आर्थिक गतिविधि अपेक्षाअनुसार विस्तार हुन नसक्नु, आयात व्यापारको गति कम हुनु तथा बजारको सुस्तता जस्ता कारणले राजस्व संकलनमा दबाब परेको देखिएको बताएका छन् ।