अमेरिकाले स्थल आक्रमण गरे यूएईलाई ध्वस्त पारिदिने इरानको चेतावनी

दुबई (एजेन्सी) । इरानले संयुक्त अरब एमिरेट्स (यूएई) लाई कडा चेतावनी दिँदै आफ्नो भूमिमा अमेरिकी आक्रमण भएमा यूएईलाई मुख्य निशाना बनाउने बताएको छ । अमेरिकाले इरानविरुद्ध स्थलगत (ग्राउन्ड) आक्रमण गरेमा वा इरानी टापुहरू कब्जा गर्ने प्रयास गरेमा यूएईका आर्थिक, सरकारी र पूर्वाधार संरचनाहरू पूर्ण रूपमा ध्वस्त पारिदिने इरानको धम्की छ ।

इरानी उच्च अधिकारीहरूले यूएईले अमेरिका र इजरायललाई सैन्य अड्डा, एयर बेस र एआई (AI) प्रविधि उपलब्ध गराएर सहयोग गरिरहेको आरोप लगाएका छन् । यदि यूएईको भूमि प्रयोग गरी अमेरिकी सेना इरान प्रवेश गरेमा इरानी प्रतिक्रिया सैन्य लक्ष्यमा मात्र सीमित नरहने चेतावनी दिइएको छ । इरानले यूएईका सरकारी संस्था, ठूला लगानी परियोजना र समग्र अर्थतन्त्रलाई नै निशाना बनाउने बताएको छ ।

‘मिडल इस्ट आई’ लाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएअनुसार इरानले यूएईलाई “पहिलो लक्ष्य” बनाउने र आक्रमण “उस्तै स्तरको” हुने स्पष्ट पारेको छ। यसलाई इरानको “अन्तिम चेतावनी” का रूपमा हेरिएको छ ।

यो चेतावनी यस्तो समयमा आएको छ, जब अमेरिकाले इरानका रणनीतिक महत्त्वका सामुद्रिक टापुहरू (खार्ग र किश्म जस्ता) कब्जा गर्ने तयारी गरिरहेको अपुष्ट खबरहरू सार्वजनिक भएका छन्। यस्ता सैन्य अपरेशनका लागि खाडी मुलुकका सैन्य आधार क्षेत्र (Base) प्रयोग हुन सक्ने आशङ्कामा इरान थप आक्रामक बनेको देखिन्छ ।

द्वन्द्व ३५ औं दिनमा प्रवेश गरिरहँदा इरानले पछिल्लो २४ घण्टामा दुईवटा अमेरिकी लडाकु विमान खसालेको दाबी समेत गरेको छ । यसअघि पनि इरानले यूएई लगायत खाडी देशमा रहेका अमेरिकी अड्डाहरूमा मिसाइल र ड्रोन प्रहार गरिसकेको छ ।

इरानको यो पछिल्लो धम्कीबारे यूएईले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । यद्यपि, क्षेत्रीय तनाव बढ्दै जाँदा स्थलगत युद्ध सुरु भएमा पूरै खाडी क्षेत्र नै भीषण अस्थिरतातर्फ धकेलिने आशङ्का गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै