फोनपे सर्वाधिक कर योगदान गर्ने संस्थाका रूपमा सम्मानित

काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेड सर्वाधिक आयकर योगदान गर्ने संस्थाका रूपमा सम्मानित भएको छ ।

आन्तरिक राजस्व कार्यालय, ललितपुर–१ ले आर्थिक वर्ष २०८१/८२ को आय विवरणका आधारमा फोनपेलाई आफ्नो कार्यक्षेत्रभित्र सबैभन्दा बढी आयकर योगदान गर्ने संस्थाका रूपमा सम्मान गरेको हो ।

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आयोजित कार्यक्रममा फोनपेलाई सम्मानपत्र प्रदान गरिएको कम्पनीले जनाएको छ । कार्यक्रममा प्रमुख कर अधिकृत शिवकुमार राईले नेपालको अर्थतन्त्रलाई डिजिटल बनाउन तथा आर्थिक गतिविधिलाई औपचारिक प्रणालीमा आबद्ध गर्न फोनपेले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

यसअघि पनि फोनपे सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रमा सर्वाधिक आयकर योगदान गर्ने संस्थाका रूपमा सम्मानित भएको थियो । काठमाडौंमा आयोजित आठौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट फोनपे सम्मानित भएको थियो ।

नेपालको अग्रणी डिजिटल भुक्तानी प्रणाली सञ्चालकका रूपमा फोनपेले डिजिटल भुक्तानीको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । लाखौँ प्रयोगकर्ता, वित्तीय संस्था र व्यापक मर्चेन्ट सञ्जालमार्फत कम्पनीले डिजिटल वित्तीय पहुँच विस्तारमा योगदान पुर्‍याउँदै आएको जनाएको छ ।

कम्पनीका अनुसार फोनपे निकट भविष्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सर्वसाधारणमा जाने तयारीमा समेत रहेको छ । आईपीओले संस्थागत पारदर्शिता, सुशासन र कम्पनीको विकास यात्रामा सर्वसाधारणको सहभागिता बढाउने अपेक्षा गरिएको छ ।

कम्पनीले यस सम्मानलाई संस्थागत उत्तरदायित्व, वित्तीय पारदर्शिता र नेपालको आर्थिक विकासप्रतिको आफ्नो प्रतिबद्धताको कदरका रूपमा लिएको जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै