काठमाडौँ । एनआइसी एशिया बैंक र सूर्यज्योति लाइफ इन्स्योरेन्सबीच सूर्यज्योति लाइफ इन्स्योरेन्सका बीमित तथा बीमा अभिकर्ताहरूलाई लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्रदान गर्ने सम्बन्धमा रणनीतिक साझेदारी सम्झौता भएको छ ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा दुई संस्थाबीच समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका बीमित तथा अभिकर्ताहरूले वार्षिक शुल्क बिना क्रेडिट कार्ड प्राप्त गर्ने अवसर पाउनेछन् ।
यसले उनीहरूलाई आकस्मिक वित्तीय आवश्यकता व्यवस्थापन गर्न तथा डिजिटल भुक्तानीका सुविधा उपयोग गर्न थप सहज बनाउने अपेक्षा गरिएको छ ।
ग्राहकहरूलाई परिष्कृत, सुरक्षित र सुलभ बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले गरिएको यो सहकार्यले सूर्यज्योति लाइफमा आबद्ध बीमित तथा अभिकर्ताहरूलाई डिजिटल अर्थतन्त्रमा थप प्रभावकारी रूपमा जोड्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
बैंक र बीमा क्षेत्रबीचको यो सहकार्यले वित्तीय सेवाको पहुँच विस्तार गर्नुका साथै डिजिटल बैंकिङको प्रयोगलाई समेत प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।