रश्मी पन्त र सुगेन शाक्य प्रभु बैंकबाट बर्खास्त, अन्य दुई कर्मचारीलाई बढुवा रोक तथा पद घटुवा

काठमाडौं । प्रभु बैंकले ‘डन लेडी बैंकर’ भनेर चिनिएकी रश्मी पन्तलाई बैंकको सेवाबाट बर्खास्त गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले चिफ बिजनेश अफिसर पन्तलाई पदबाट हटाउने निर्णय गरेका हुन् ।

बैंकले पन्तसहित चार जना कर्मचारीलाई कारबाही गरेको हो । बैंकले पन्त र सुगेन शाक्यलाई सेवाबाट बर्खास्त गरेको छ भने अन्य दुई कर्मचारीलाई बढुवा रोक तथा पद घटुवाको कारबाही गरेको हो ।

पन्त तत्कालीन सीईओ अशोक शेरचनको कार्यकालमा बैंकभित्र प्रभावशाली कर्मचारीका रूपमा चिनिन्थिन् । बैंकिङ क्षेत्रमा उनलाई ‘डन लेडी बैंकर’ भनेर समेत चर्चा गरिन्थ्यो । शेरचनसहित बैंकका केही अधिकारी पक्राउ परेपछि पन्त केही समय फरार रहेको र पछि धरौटीमा रिहा भएको समाचारमा उल्लेख छ। धरौटीमा रिहा भएपछि पनि उनी बैंकमा नियमित हाजिर भएकी थिइनन् ।

पन्त बैंकमा पुनः हाजिर हुन आउने संकेत पाएपछि प्रभु बैंकले उनलाई बर्खास्त गरेको बताइएको छ। बैंकले जारी गरेको सूचनाअनुसार उनीमाथि कर्जा प्रवाह गर्दा आवश्यक कानुनी प्रक्रिया पूरा नगरी मनपरी कर्जा लगानी गरेको आरोप लगाइएको छ । आवश्यक कानुनी कागजात र सुरक्षा व्यवस्था पूरा नगरिकनै एमएस एसियन भिलेज रिसोर्ट प्रालिलाई कर्जा प्रवाह गरेको कसुरमा पन्तलाई गएको कात्तिक २० गतेदेखि लागू हुने गरी बैंकको सेवाबाट बर्खास्त गरिएको हो ।

त्यस्तै, शाक्यले प्रभु ग्रुप इन्कद्वारा रेमिट्यान्स कारोबारको सन्दर्भमा पेस गरिएको स्ट्यान्डबाई लेटर अफ क्रेडिट तथा वित्तीय जमानत स्वीकार गर्दा बैंकिङ नियमहरूको पालना नगरेको र बैंकलाई ठूलो वित्तीय जोखिम तथा कानुनी दायित्वमा पार्न सक्ने देखिएकोले उनलाई पनि कात्तिक २० गतेदेखि लागू हुने गरी सेवाबाट बर्खास्त गरिएको छ।

बैंकका अर्का कर्मचारी सुदिप श्रेष्ठले सामूहिक सौदाबाजी सम्झौताको नतिजाप्रति असन्तुष्टि जनाउँदै कर्मचारीहरूको ठूलो समूहलाई अनाधिकृत रूपमा इमेल प्रवाह गरेकोले कर्मचारी विनियमावली बमोजिम सहायकबाट जुनियर सहायक पदमा एक तह घटुवा गरिएको छ ।

अर्का एक कर्मचारीको भने बढुवा रोकिएको छ । मधुसूदन न्यौपानेले स्थापित कार्यविधिहरूको पालना नगरी कार्यगत कमजोरी देखाएकोले कर्मचारी विनियमावली बमोजिम दुई वर्षको अवधिका लागि उनको बढुवा रोकिएको बैंक स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै