काठमाडौं । वाणिज्य बैंकहरुले चालु आवको दुई महिना अवधिसम्ममा गत आर्थिक वर्षको दुई महिनाको तुलनामा ६.२७ प्रतिशतले मुनाफा बढाएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले चालु आवको दुई महिना अर्थात भदौ मसान्तसम्ममा १७ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएका छन् । गत आवको यसै अवधिसम्म बैंकको कुल मुनाफा १६ अर्ब ६४ करोड रुपैयाँ थियो । भदौ मसान्तसम्ममा नबिल बैंक नाफामा पहिलो नम्बरमा रहँदा अन्य चार ओटा वाणिज्य बैंकहरु ग्लोबल आइएमई, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन, कुमारी बैंकले पनि एक अर्बभन्दा बढी नाफा कमाएका छन् । समीक्षा अवधिमा नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, एनआइसी एशिया, कुमारी बैंक र ग्लोबल आइएमई बैंक गरी ६ वटा बैंकको नाफा भने घटेको छ ।

सर्वाधिक नाफा कमाउनेमा नबिलले १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत साउनमा मात्रै बैंकले ८० करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो । ग्लोबल आइएमई बैंक नाफाकै आधारमा दोस्रो स्थानमा छ । ग्लोबल आइएमईले दुई महिनामा १ अर्ब ५६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत साउनमा सर्वाधिक नाफा ८९ करोड २४ लाख रुपैयाँ कमाएको थियो ।
एनआइएमबि बैंकले भदौसम्ममा१ अर्ब ४१ करोड २८ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । साउनमा भने बैंकले ५७ करोड ७५ लाख ६० हजार रुपैयाँ नाफा कमाएको थियो । गत साउनमा पाँचौं स्थानमा रहेको बैंक पनि भदौमा भने तेस्रो स्थानमा उक्लिएको छ ।
समीक्षा अवधिमा हिमालयन बैंकले १ अर्ब १६ करोड ८१ लाख रुपैयाँ र पाँचौं स्थानमा रहेको कुमारी बैंकले १ अर्ब ८ करोड ५० लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै, प्राइम बैंकले ९७ करोड ४६ लाख, प्रभूले ९१ करोड ३२ लाख, कृषि विकास बैंकले ८८ करोड ७० लाख, राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ३ लाख, लक्ष्मी सनराइजले ८६ करोड ४६ लाख र एभरेष्ट बैंकले ८२ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ ।
यता, एनएमबि बैंकले पनि ७८ करोड २ लाख, सानिमा ६८ करोड ९२ लाख, नेपाल बैंकले ६७ करोड ८२ लाख, स्ट्याण्डर्ड चार्टर्डले ६० करोड ६२ लाख, सिद्धार्थले ६० करोड ५६ लाख, सिटिजनले ५८ करोड ९८ लाख, एनआइसी एशिया ५७ करोड ७५ लाख, नेपाल एसबिआईले ५३ करोड ३९ लाख, माछापुच्छ्रे बैंकले ३९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
गत आवको तुलनामा चालु आवमा नेपाल एसबिआई बैंकले सर्वाधिक ९५.६० प्रतिशतले नाफा वृद्धि गरेको छ । कृषि विकास बैंकले ४४.०९ प्रतिशत, सानिमा बैंकले ३४.६० प्रतिशत, प्रभु बैंकले ३७.५० प्रतिशत, सिटिजन्स बैंकले ३३.१० प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २४.१३ प्रतिशत, एभरेष्ट बैंकले १५.८५ प्रतिशत, प्राइम कमर्सियल बैंकले १५.५१ प्रतिशतले नाफा बढाएको छ । बाँकी बैंकको नाफा वृद्धि दश प्रतिशत भन्दा कम छ ।
त्यस्तै एनआइसी एशिया बैंकको नाफा गत आवको तुलनामा सबैभन्दा धेरै नाफा घटेको छ । छ । बैंकको नाफा नाफा गत आवको तुलनामा २७.८५ प्रतिशत घटेको हो । ग्लोबल आइएमई बैंकको १०.८० प्रतिशत, कुमारी बैंकको ५.२६ प्रतिशत, हिमालयन बैंकको ५.२२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.९६ प्रतिशत, र नेपाल बैंकको ४.०९ प्रतिशतले नाफा घटेको छ ।