त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिएका छन् । सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा उपकुलपति प्रा.डा दीपक अर्याल, शिक्षाध्यक्ष (रेक्टर) प्रा.डा खड्ग केसी र रजिस्ट्रार प्रा.डा केदारप्रसाद रिजाल छन् ।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले हटाउने संकेत पाएपछि त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले पदबाट राजीनामा दिएका हुन् । सरकारले विश्वविद्यालय तथा राजनीतिक नियुक्तिसम्बन्धी अध्यादेश ल्याएर जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ।

त्रिविका शिक्षाध्यक्ष खड्ग केसीले सरकारलाई काम गर्न सहज वातावरण होस् भनेर आफूहरू (उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार) ले पदबाट सामूहिक राजीनामा दिएको बताए । उनीहरूले कुलपतिसमेत रहेका शाहसमक्ष राजीनामा दिका हुन् । त्रिविमा प्रधानमन्त्री कुलपति रहने व्यवस्था छ ।

उपकुलपति अर्याल २०८२ असार २५ गते उपकुलपति नियुक्त भएका थिए । तत्कालीन कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई उपकुलपति नियुक्त गरेका थिए । २०८० चैतमा त्रिविमा शिक्षाध्यक्ष केसी र रजिस्ट्रारमा रिजाल नियुक्त भएका थिए । उनीहरूलाई त्यसबेला तत्कालीन कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नियुक्त गरेका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै