सुकुम्वासी बस्ती पुगेर बाबुरामले भने– ‘बालेनजी इन्जिनियर मान्छे हो, सोचेरै कदम चाल्नुभएको होला’

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौँको थापाथलीस्थित सुकुम्वासी बस्तीको अवलोकन गरेका छन् । महानगरपालिकाले डोजर चलाउन खोजेपछि तनावग्रस्त बनेको उक्त क्षेत्रमा पुगेर भट्टराईले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उचित व्यवस्थापनबिना हटाउनु गलत हुने बताए ।

डा. भट्टराईले सहरी गरिब तथा श्रमिकहरूको दीर्घकालीन व्यवस्थापनका लागि सरकारले कदम चाल्नुपर्नेमा जोड दिए । “सुकुम्वासी समस्या हटाउने मात्र होइन, व्यवस्थित पुन:स्थापना गर्ने विषय हो,” उनले भने, “वास्तविक सुकुम्वासीको पहिचान गरी उचित बसोबासको व्यवस्था गर्नुपर्छ । म पनि विगतमा झुपडीमा बसेको मान्छे हुँ, खोलाकिनार र असुरक्षित स्थानमा बस्न बाध्य नागरिकहरूको अवस्था सुधार गर्नु राज्यको दायित्व हो ।”

उनले केही व्यक्तिहरूले अवैध रूपमा जग्गा कब्जा गर्ने प्रवृत्ति पनि रहेको स्वीकार गर्दै वास्तविक र नक्कली सुकुम्वासी छुट्ट्याएर मात्र प्रक्रिया अगाडि बढाउन सुझाव दिए । यसका लागि विगतमा भएका सर्वेक्षणहरूलाई आधार मान्नुपर्ने उनको भनाइ थियो ।

प्रधानमन्त्री बालेन शाहको कार्यशैलीबारे चर्चा गर्दै डा. भट्टराईले विश्वास व्यक्त गरे, “बालेनजी इन्जिनियर मान्छे हो, उहाँले सुकुम्वासीको हितका लागि राम्रै सोचेर काम अगाडि बढाउनुभएको होला। अहिले जुन प्रक्रिया भइरहेको छ, त्यो निश्चित योजना र सोचअनुसार नै भइरहेको मेरो विश्वास छ।”

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै