काठमाडौँ । इक्रा नेपाल लिमिटेडले एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेडको क्रेडिट रेटिङ्गमा अपग्रेड गरेको छ । कम्पनीको सुधारिएको वित्तीय अवस्था र बलियो सम्पत्ति गुणस्तरलाई ध्यानमा राख्दै इक्राले रेटिङ्ग बढाएको हो ।
नयाँ रेटिङ्ग अनुसार कम्पनीको दीर्घकालीन कर्जा रेटिङ्ग ‘LBB+’ बाट सुधार भई ‘LBBB-‘ कायम भएको छ । त्यसैगरी, अल्पकालीन रेटिङ्ग पनि ‘A4+’ बाट उक्लिएर ‘A3’ पुगेको छ ।
वित्तीय सुधारका मुख्य आधार
कम्पनीले विशेषगरी मोबाइल फोन फाइनान्सिङ्गको क्षेत्रमा प्रभावकारी रिकभरी संयन्त्र र प्रविधिमा आधारित नियन्त्रण प्रणाली अपनाएका कारण सम्पत्ति गुणस्तरमा उल्लेख्य सुधार देखिएको छ । रेटिङ्ग अपग्रेडका अन्य प्रमुख कारणहरू निम्नुसार छन्:-
सन्तुलित नाफा: स्थिर नेट इन्ट्रेस्ट मार्जिन र सञ्चालन खर्चमा गरिएको नियन्त्रणले नाफामा निरन्तरता दिएको छ ।
सुरक्षित प्रावधान: कम्पनीले ९६ प्रतिशतको बलियो प्रोभिजन कभरेज (Provision Coverage) कायम गरेको छ, जसले सम्भावित वित्तीय जोखिम वहन गर्ने क्षमता बढाउँछ ।
जोखिम न्यूनीकरण: कर्जा पोर्टफोलियो विविध र स-साना खण्डमा विभाजित हुनुका साथै मध्यम ‘लोन-टु-भ्याल्यु’ (LTV) अनुपातमा ध्यान दिइएको छ ।
समूहको विरासत र पहुँच
पाँच दशकदेखि अटोमोबाइल क्षेत्रमा स्थापित एमएडब्लू (MAW) ग्रुपको हिस्सा हुनु यस कम्पनीको अर्को बलियो पक्ष हो । समूहको सशक्त बजार उपस्थिति र अग्रणी ब्रान्डहरूसँगको साझेदारीले व्यवसाय विस्तार र वित्तीय पहुँचमा सहजता प्रदान गरेको छ ।
कम्पनी प्रोफाइल
सन् २०११ मा स्थापित एमएडब्लू हायर पर्चेज प्राइभेट लिमिटेड नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा सञ्चालन हुँदै आएको छ । मोरङको विराटनगरमा केन्द्रीय कार्यालय र काठमाडौँको त्रिपुरेश्वरमा शाखा कार्यालय रहेको यस कम्पनीले ग्राहकलाई झन्झटरहित हायर पर्चेज सेवा उपलब्ध गराउँदै आएको छ ।