काठमाडौँ । एनआईसी एशिया बैंक र स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था (स्तुपा कम्युनिटी हस्पिटल) बीच बैंकका ग्राहक तथा अस्पतालका शेयरधनीहरूलाई विशेष सेवा प्रदान गर्ने विषयमा समझदारी भएको छ ।
उक्त समझदारी पत्रमा बैंकका तर्फबाट काठमाडौं नर्थका सर्कल हेड सुदिन कुमार लामा र हस्पिटलका तर्फबाट निर्देशक डा. पेम्बा लामाले हस्ताक्षर गरे ।
यस समझदारीसँगै एन आई सी एशिया बैंकका ग्राहकहरूले स्तुपा कम्युनिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवाहरूमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाका बोर्ड सदस्य, निर्देशक, कर्मचारी तथा शेयरधनीहरूले बैंकको क्रेडिट कार्डमा उपलब्ध विशेष सुविधाहरू उपयोग गर्न पाउनेछन् ।
ग्राहकहरूको सहजताका लागि स्तुपा कम्युनिटी हस्पिटल परिसरमै बैंकले एटिएम (ATM) सेवा सञ्चालन गर्ने समझदारी भएको छ ।
बैंकले आफ्ना ग्राहकहरूलाई परिष्कृत र सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने निरन्तरता स्वरूप यो सहकार्य गरिएको जनाएको छ । यसबाट बैंकका ग्राहक र अस्पतालसँग आबद्ध व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।