निर्वाचनको दिन फागुन २१ मा मौसम कस्तो रहला ? यस्तो छ विगत ३० वर्षको ट्रेन्ड

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका दिन मौसम कस्तो रहला भन्ने चासोबीच जल तथा मौसम विज्ञान विभागले आफ्नो प्रारम्भिक विश्लेषण सार्वजनिक गरेको छ ।

निर्वाचन आयोगले सोधेको प्रश्नको जवाफ दिँदै मौसम पूर्वानुमान महाशाखाले विगतको तथ्याङ्कका आधारमा सो दिन वर्षाको सम्भावना न्यून रहेको जानकारी दिएको हो ।

के भन्छ महाशाखा ?

आयोगले पत्र नै पठाएर फागुनको मौसमी अवस्थाबारे जानकारी मागेको थियो। जवाफमा महाशाखाले वैज्ञानिक आधारमा ‘सटिक’ भविष्यवाणी एक साताअघि मात्र गर्न सकिने स्पष्ट पारेको छ । यद्यपि, विगतको ऐतिहासिक तथ्याङ्कले भने निर्वाचनको दिन मौसम सफा रहने संकेत गरेको छ ।

‘हामीले जल तथा मौसम विज्ञान विभागलाई पत्राचार गर्दै फागुन १० गतेदेखि ३० गतेसम्मको मौसम पूर्वानुमान पठाउन भनेका थियौं । उहाँहरूले निकै मेहनत गरेर पछिल्लो ३० वर्षको औसतमा रेकर्ड पठाउनुभएको छ।’आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने,‘अहिले पछिल्लो प्रविधिअनुसार एक सातासम्मको मौसमी अवस्था जानकारी दिन सक्नु हुने रहेछ। त्यसभन्दा अघिको भविष्यवाणी गर्न सक्ने खालको प्रविधि रहेनछ,’

विगत ३० वर्षको अवस्था:

महाशाखाले विगत ३० वर्षको मौसमी रेकर्ड अध्ययन गरेर आयोगलाई बुझाएको विवरणमा उल्लेख छ:

वर्षाको इतिहास: विगत ३० वर्षमा फागुन २० देखि २३ गतेसम्मको अवधिमा प्रायः पानी परेको देखिँदैन।

हिमपात: उच्च हिमाली भेगमा समेत यो समयमा भारी हिमपातको रेकर्ड न्यून छ।

आयोगको चासो किन ?

निर्वाचनका दिन पानी परेमा वा हिमपात भएमा मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिन हुने र दुर्गम क्षेत्रमा मतपत्र ढुवानीमा समस्या पर्न सक्ने भएकाले आयोगले मौसमको पूर्वानुमान मागेको हो ।

महाशाखाको यो जवाफले आयोग र सुरक्षा निकायलाई निर्वाचन व्यवस्थापनको तयारी गर्न थप सहज भएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै