अरिजीत सिंहको प्लेब्याक गायनबाट विदाइ घोषणा: बलिउड संगीत उद्योगमा हलचल

मुम्बई । बलिउडका सबैभन्दा लोकप्रिय र प्रभावशाली गायकमध्ये एक मानिने अरिजीत सिंहले अबदेखि प्लेब्याक सिंगरको रूपमा कुनै पनि नयाँ गीत नगाउने घोषणा गरेसँगै भारतीय संगीत उद्योगमा ठूलो तरंग पैदा भएको छ ।

नयाँ वर्षको अवसर पारेर फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गरिएको उनको यो घोषणाले प्रशंसकदेखि संगीतकर्मीहरूसम्मलाई भावुक बनाएको छ ।

इन्स्टाग्राम पोस्टमा अरिजीत सिंहले लेखेका छन्- ‘विगत धेरै वर्षदेखि मलाई निरन्तर माया र साथ दिने सबै श्रोतालाई धन्यवाद । अबदेखि म प्लेब्याक सिंगरको रूपमा कुनै नयाँ काम लिने छैन । यो यात्रालाई यहीँ समाप्त गर्दैछु । यो यात्रा अत्यन्तै सुन्दर रह्यो ।’ उनको यो सन्देश छोटो भए पनि गहिरो भाव र अर्थ बोकेको देखिन्छ ।

मंगलवार राति सार्वजनिक भएको उक्त पोस्ट केही घण्टामै लाखौं लाइक र प्रतिक्रियाले भरिएको छ । धेरै प्रशंसकहरूले उनलाई प्लेब्याक गायन नछोड्न आग्रह गरेका छन् भने कतिपयले यसलाई पूर्ण विदाइ नभई संगीतको नयाँ यात्राको सुरुआतका रूपमा व्याख्या गरेका छन् । सामाजिक सञ्जालमा ‘Arijit Era’ र ‘Don’t quit Play back’s जस्ता ह्यासट्याग ट्रेन्डमा छन् ।

नयाँ बाटोको संकेत ?

संगीत विश्लेषकहरूका अनुसार अरिजीत सिंहले प्लेब्याक गायनबाट टाढा हुने निर्णय गरे पनि उनी संगीतबाट पूर्ण रूपमा अलग हुने सम्भावना कम छ । यसअघि विभिन्न अन्तर्वार्तामा उनले स्वतन्त्र संगीत, लाइभ कन्सर्ट, अन्तर्राष्ट्रिय सहकार्य र भारतीय शास्त्रीय संगीतमा गहिरो रूपमा संलग्न हुने इच्छा व्यक्त गर्दै आएका थिए । कतिपयको अनुमानमा उनी अब फिल्मका लागि गाउनेभन्दा आफ्नै एल्बम, फ्युजन प्रोजेक्ट वा अन्तर्राष्ट्रिय म्युजिक प्लेटफर्ममा केन्द्रित हुन सक्छन् ।

बलिउडमा अरिजीत सिंहको योगदान

पश्चिम बंगालको मुर्शिदाबादमा जन्मिएका अरिजीत सिंहले हिन्दी, बंगाली, मराठी, तमिल, तेलुगुलगायत विभिन्न भारतीय भाषामा हजारौं गीत गाएका छन् । सन् २०११ मा रिलिज भएको फिल्म मर्डर २ को गीत ‘फिर मोहब्बत करने चला है’ बाट उनले बलिउडमा बलियो पहिचान बनाएका थिए । त्यसपछि ‘तुम ही हो’, ‘चन्ना मेरेया’, ‘अगर तुम साथ हो’, ‘केसरिया’ जस्ता गीतहरूले उनलाई आधुनिक बलिउड संगीतको आत्मा बनाइदियो ।

हालै रिलिज भएको फिल्म बोर्डर–२ को गीत ‘घर कब आओगे’ र आउँदो महिना प्रदर्शनमा आउने विशाल भारद्वाज निर्देशित फिल्म ओ रोमियो को गीत ‘हम तो तेरे ही लिए थे’ उनका अन्तिम प्लेब्याक प्रोजेक्टमध्ये पर्ने सम्भावना छ । सलमान खानको ब्याटल अफ गलवानमा पनि उनलाई सुन्न सकिन्छ ।

उद्योगप्रति असन्तुष्टि ?

यसअघि अरिजीत सिंहले विभिन्न अन्तर्वार्तामा संगीत उद्योगमा कलाकारलाई उचित पारिश्रमिक, सम्मान र पारदर्शिता आवश्यक रहेको बताएका थिए । स्टारडमभन्दा संगीतको आत्मिक मूल्यलाई प्राथमिकता दिने उनको सोच यस निर्णयसँग जोडिएको हुन सक्ने चर्चा पनि छ ।

एउटा युगको अन्त्य ?

अरिजीत सिंहको घोषणासँगै बलिउड संगीत क्षेत्रमा ‘एक युग समाप्त भएको’ टिप्पणी हुन थालेको छ । पछिल्लो एक दशकभन्दा बढी समयसम्म उनका स्वरबिनाको हिन्दी फिल्म कल्पना गर्नै नसकिने अवस्थामा पुगेको थियो ।

तर, प्रशंसकहरू अझै आशावादी छन्अ- रिजीत सिंहको आवाज अब फरक रूप, फरक माध्यम र फरक विश्वमा सुनिने छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै