काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) को अध्यक्षमा आदर्शकुमार श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई सो पदमा मनोनयन गरेकी हुन् ।
आफ्नो कार्यकालको अन्तिम समयमा रहेकी प्रधानमन्त्री कार्कीले स्वकीय सचिवलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष उपहार दिएर विदा हुन लागेकी हुन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ को व्यवस्था अनुसार कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले नै अध्यक्ष मनोनयन गर्ने प्रावधान छ । सोही कानुनी अधिकार प्रयोग गर्दै प्रधानमन्त्री कार्कीले श्रेष्ठलाई जिम्मेवारी सुम्पिएकी हुन् ।
श्रेष्ठ हाल प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिवका रूपमा कार्यरत छन् । अधिवक्ता श्रेष्ठ अघिल्लो कार्यकालदेखि नै प्रधानमन्त्रीको सचिवालयमा सक्रिय रहँदै आएका थिए ।