सार्वजनिक बहसका लागि ओली तयार: गगन, बालेन र ओलीबीच ‘लाइभ डिबेट’को सम्भावना

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भावी प्रधानमन्त्रीका उम्मेदवारहरूबीच हुने सार्वजनिक बहस (पब्लिक डिबेट) का लागि आफू पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

शनिबार पार्टी मुख्यालय च्यासलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले प्रत्यक्ष प्रसारण हुने गरी खुला संवाद आवश्यक रहेको उल्लेख गरे । पत्रकार टीकाराम यात्रीले प्रधानमन्त्रीका उम्मेदवारहरूबीच सार्वजनिक बहस हुनुपर्ने विषय उठाएका बेला ओलीको यस्तो प्रतिक्रिया आएको हो ।

के भने ओलीले ?

बहसबारे सोधिएको प्रश्नमा ओलीले भने, “प्रधानमन्त्रीको उम्मेदवार हुँ भन्नेहरूबीच एउटा पब्लिक डिबेट र ओपन लाइभ कार्यक्रम राख्नुस्। किन र केका लागि प्रधानमन्त्री हुने भन्ने विषयमा छलफल हुनुपर्छ। म यसका लागि बिल्कुल तयार छु।”

बहसको पृष्ठभूमि र तीन मुख्य प्रतिस्पर्धी

निर्वाचन नजिकिँदै गर्दा प्रमुख राजनीतिक शक्तिहरूले आफ्ना प्रधानमन्त्रीका उम्मेदवार अघि सारेपछि बहसको माहोल तातेको हो:

नेकपा (एमाले): सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ।

नेपाली कांग्रेस: शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्री गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ।

रास्वपा र बालेन पक्ष: राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँका पूर्वमेयर बालेन शाहबीचको एकतासँगै उनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा हेरिएको छ।

किन आवश्यक छ सार्वजनिक बहस ?

नेपालमा पश्चिमा देशहरूको जस्तै प्रधानमन्त्रीका दाबेदारहरूलाई एउटै मञ्चमा राखेर एजेण्डामा आधारित बहस गराउनुपर्ने माग नागरिक स्तरबाट उठ्दै आएको छ ।

तीनवटै पक्षले उम्मेदवार तय गरेपछि अब ‘ओली भर्सेस गगन भर्सेस बालेन’ बीचको सम्भावित वैचारिक भिडन्तलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै