रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ का लागि आफ्नो मनोनयन दर्ता गराएका छन् । उनले मंगलबार मुख्य निर्वाचन कार्यालय रुकुम पूर्व पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
मनोनयन दर्ताका क्रममा पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेता,कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । जनयुद्धको ऐतिहासिक उद्गम थलोका रूपमा चिनिने रुकुम पूर्वबाट प्रचण्डको उम्मेदवारीलाई राजनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
मनोनयन दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै संयोजक दाहालले जनताको विश्वास र समर्थनका आधारमा परिवर्तन र समृद्धिको यात्रालाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले रुकुम पूर्वमा सहिद परिवार,घाइते तथा अपांग परिवारबाट व्यापक सहयोग र समर्थन पाएको समेत बताएका छन्।