काठमाडौँ । लामो समयदेखिको राजनीतिक दूरी र विभाजनलाई अन्त्य गर्दै राजेन्द्र लिङ्देन र कमल थापा नेतृत्वका दुई राप्रपा अन्ततः एक भएका छन् । आज (पुस १६ गते) काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित एक भव्य समारोहका बीच दुवै पार्टीका अध्यक्षहरूले संयुक्त रूपमा ‘एकता घोषणापत्र’ सार्वजनिक गरेका हुन्।
एकताका मुख्य आधारहरू:
समान एजेन्डा:
संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको पुनःस्थापनालाई मुख्य लक्ष्य बनाउँदै दुई शक्ति एक ठाउँमा उभिएका हुन्।
पार्टीको नाम र चिह्न:
एकीकृत पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ (राप्रपा) रहनेछ भने चुनाव चिह्न ‘हलो’ र झण्डा साविककै कायम रहने सहमति भएको छ।
निर्वाचन लक्षित:
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअघि राजावादी मतहरू विभाजित हुन नदिन यो एकता गरिएको हो।
विभाजनदेखि एकतासम्मको यात्रा २०७८ सालको महाधिवेशनमा राजेन्द्र लिङ्डेनसँग अध्यक्ष पदमा पराजित भएपछि असन्तुष्ट बनेका कमल थापाले राप्रपा छोडेर ‘राप्रपा नेपाल’ ब्युँताएका थिए । करिब चार वर्षको छुट्टाछुट्टै राजनीतिक यात्रापछि “राष्ट्रियता र एजेन्डा जोगाउन एकता अनिवार्य भएको” भन्दै उनीहरू पुनः एक भएका हुन् ।
को–को कहाँ ?
प्रारम्भिक सहमति अनुसार राजेन्द्र लिङ्देन पार्टीको अध्यक्ष रहनेछन् भने कमल थापाको सम्मानजनक सहभागिता र वरीयताबारे थप प्राविधिक विषयहरू क्रमशः टुङ्ग्याइने बताइएको छ ।