काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र सुरु भएको रुपान्तरणको लहरले देशैभरका कार्यकर्ता र मतदातामा नयाँ ऊर्जा सञ्चार गरेको बताएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै महामन्त्री पौडेलले कांग्रेसलाई नयाँ ढङ्गले अघि बढाउने संकल्प दोहोर्याएका हुन् ।
“देशभरका साथीहरू र मतदाताले फोन गरेर ‘तपाईंहरूले कांग्रेस रुपान्तरण गर्नुभयो, अब देश रुपान्तरणको प्रक्रियामा अझ उत्साहजनक तरिकाले अगाडि बढ्नुस्’ भन्नुभएको छ,” उनले सन्देशमा भनेका छन्, “जनस्तरबाट प्राप्त यो स्नेह र समर्थनले हामीलाई अझ जिम्मेवार र उत्साहित बनाएको छ ।”
विकृति सफा गर्ने प्रतिबद्धता
महामन्त्री पौडेलले राजनीतिमा देखिएका तमाम विकृति र विसंगतिहरूलाई सफा गर्दै कांग्रेसले जनमुखी राजनीतिको बाटो समात्ने विश्वास दिलाएका छन्। उनले देशभरका कांग्रेस कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ मतदाताको घरदैलोमा पुग्न र पार्टीको नयाँ एजेन्डाबारे स्पष्ट पार्न आग्रह गरे।
काठमाडौँ-५ मा चुनावी सरगर्मी
काठमाडौँ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका पौडेलले आफ्नो निर्वाचन क्षेत्रका मतदाताबाट प्राप्त स्नेहले आफूलाई थप ऊर्जा दिएको बताए । “काठमाडौँ ५ का आदरणीय मतदाताज्यूहरूले जसरी स्नेह प्रकट गर्नुभएको छ, त्यसबाट म अत्यन्तै उत्साहित छु,” उनले भने ।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका पौडेलले यसअघि सुरु गरेका विकासका योजनाहरूलाई पूर्णता दिन र नीतिगत सुधारका लागि आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारेका छन् । पार्टीमा युवा नेतृत्वको उदय र विशेष महाधिवेशनपछिको बदलिएको परिस्थितिले आगामी निर्वाचनमा कांग्रेसको पक्षमा सकारात्मक नतिजा आउने उनको दाबी छ ।