मुलुकलाई थप संकटबाट जोगाउन निर्वाचन अपरिहार्य: भण्डारी

काठमाडौँ ।  कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पटक–पटकको विद्रोहबाट मुलुकलाई जोगाउँदै स्थिरतातर्फ अगाडि बढाउने निर्वाचन अपरिहार्य रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै भण्डारीले एक शताब्दीमै चार वटा ठूला क्रान्ति व्यहोरेको मुलुकले थप संकट धान्न नसक्ने बताए । भण्डारीले भावी पुस्ताका लागि शान्तिपूर्ण र अनुशासित मुलुक निर्माणमा जोड दिंदै यस विषयमा राजनीतिक दल र नेतृत्वले गम्भीरतापूर्वक सोच्नु पर्ने बताए । भण्डारीले मुलुकमा भएका राजनीतिक उतारचढावको प्रभाव भावी पुस्तामा परिरहेको समेत बताए ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सत्य र विश्लेषणमा आधारित समाचारहरुले मात्र दिशा प्रदान गर्ने बताउँदै समाचार सम्प्रेषणमा पत्रकारहरुलाई थप सजग र जिम्मेवार बन्न आग्रह गरे । भण्डारीले मुलुकलाई अनुशासन र लयमा फर्काउनु पर्ने आवश्यकता औंल्याएका छन् । आगामी पुस्ताले सधैँ आन्दोलन र विद्रोह मात्र देख्नु पर्ने अवस्थाको अन्त्य गरी शान्ति र अमनचयन कायम भएको मुलुकमा गौरवशाली नागरिकका रूपमा बाँच्न पाउनु पर्ने उनको भनाइ छ ।

उनले आलोचना मात्र गर्ने प्रवृत्तिको सट्टा सकारात्मक कार्यको सम्मान गर्ने संस्कार विकास गर्न सबैलाई आह्वान गरे । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतपत्र छपाइ सकिएर ढुवानी शुरु भएको जानकारी दिंदै निर्वाचन सामग्रीहरू तोकिएको समयभन्दा अगावै मतदान केन्द्रमा पुग्ने सुनिश्चितता व्यक्त गरे । उनले आगामी फागुन २१ गतेको निर्वाचनलाई राष्ट्रिय दायित्वका रूपमा लिँदै तयारीका सबै पेचिला चुनौतीहरू पार गरेको बताए ।

उनकाअनुसार शुरुवाती दिनहरूमा सामग्री व्यवस्थापनमा केही जटिलता देखिए पनि हाल सबै आवश्यक सामग्रीहरू प्राप्त भइसकेका छन् । आयोगले मतपत्र छपाइको कार्य सम्पन्न गरी सम्बन्धित निर्वाचन क्षेत्र र मतदान केन्द्रहरूमा पठाउने प्रक्रिया शुरु गरिसकेको छ । मतदान अधिकृतहरूले तालिम लिएर कार्यक्षेत्रमा खटिनु अगावै सबै सामग्रीहरू उनीहरूको जिम्मामा पुग्ने गरी कार्यतालिका निर्माण गरिएको भण्डारीले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै