

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा तथा सिँचाइ क्षेत्रको अवस्था, बाढीबाट भएको क्षति, पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्न गण्डकी प्रदेशका विभिन्न जिल्लाको स्थलगत अनुगमन गर्ने भएका छन् ।
मन्त्री श्रेष्ठले कास्की, स्याङ्जा, म्याग्दी, बागलुङ र पर्वतलगायत जिल्लामा पहिरो नियन्त्रण, नदी तथा खोलामा तटबन्ध निर्माण र सिँचाइ आयोजनासँग सम्बन्धित समस्याबारे स्थलगत जानकारी लिने कार्यक्रम रहेको छ ।
अनुगमनका क्रममा कास्कीमा पहिरोबाट भएको क्षति तथा प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिइनेछ । त्यस्तै, स्याङ्जामा जलविद्युत् आयोजना तथा नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित विषयको निरीक्षण र समीक्षा गर्ने कार्यक्रम रहेको छ।
विपद्बाट प्रभावित नागरिकका वास्तविक समस्या पहिचान गर्नुका साथै क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई गति दिने र सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक योजना तथा पूर्वाधारको दिगो व्यवस्थापन गर्ने उद्देश्यले मन्त्री श्रेष्ठ स्थलगत अनुगमनमा जान लागेका हुन् ।
स्थलगत निरीक्षणबाट प्राप्त जानकारीका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल सम्बोधन गर्नुपर्ने समस्या तथा दीर्घकालीन समाधानका उपाय पहिचान गरिने जनाइएको छ ।
नागरिकको घरदैलोमै पुगेर समस्या बुझ्ने र समाधानका लागि प्रत्यक्ष पहल गर्ने सरकारको प्राथमिकताअनुसार मन्त्री श्रेष्ठले गण्डकी प्रदेशको भ्रमण गर्न लागेका हुन् ।