

काठमाडौँ । पूर्वमन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर पद) मा उम्मेदवारी दिने घोषणा सामाजिक सञ्जालमार्फत गरेकी हुन् ।
उनले अहिले कुनै पार्टीबाट काठमाडौंको मेयर पदमा निर्वाचन लड्ने हुन् वा स्वतन्त्र भन्ने खुलाएकी छैनन् । श्रेष्ठले फेसबुकमा लेखेकी छन्, ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित । आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’
श्रेष्ठ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन् । उनले संघीय सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको जिम्मेवारीसमेत सम्हालेकी थिइन् ।
उनको घोषणासँगै आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिने विषय सार्वजनिक भएको छ । यद्यपि, उनको उम्मेदवारीसम्बन्धी थप राजनीतिक तथा निर्वाचन प्रक्रियाका विवरण भने सार्वजनिक हुन बाँकी छन् ।