काठमाडौँ । मानव तस्करको प्रलोभनमा परी कम्बोडिया पुगेर अलपत्र परेका १६ जना नेपालीको उद्धार गरी नेपाल फर्काइएको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल, कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूलाई बिहीबार स्वदेश फर्काइएको हो ।
दूतावासका अनुसार उनीहरूलाई विभिन्न माध्यमबाट कम्बोडिया पुर्याएका अवैधरूपमा सञ्चालित अनलाइन स्क्यामिङ (ठगी) केन्द्र र क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएको थियो । साथै, उनीहरूमध्ये कतिपय बिनाभिसा त्यहाँ बसिरहेका थिए । राजदूतावासले अझै पनि त्यहाँ कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूको उद्धारका लागि पहल निरन्तर भइरहेको जनाएको छ ।
दूतावासले कम्बोडियामा भिसाम्याद गुज्रिएर बसेका वा जबर्जस्ती गैरकानुनी काममा फसेका नेपालीहरूलाई तत्काल सम्पर्क गर्न आग्रह गरेको छ। उद्धार र नेपाल फर्कने सहजीकरणका लागि राजदूतावास बैंकक वा एनआरएनए कम्बोडियाका प्रतिनिधिहरूलाई (शिवराज पराजुलीः +८५५ १२ २१५ ५७८), लालसिंह खड्काः +८५५ ९३ २०३ ६६६ र रामजी श्रीकुमार क्षेत्रीः +८५५ ९६ ३४६ ५७८८ लाई सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।
रोजगारदाता कम्पनी (स्क्यामिङ केन्द्र) ले कामदारको राहदानी (पासपोर्ट) जफत गर्ने गरेको वा ट्रान्सफर हुने क्रममा राहदानी हराउने गरेको गुनासो बढेपछि दूतावासले उद्धारका लागि सहज व्यवस्था गरेको छ । त्यस्तो अवस्थामा नेपाल फर्कन नेपाली राजदूतावास बैंककले निःशुल्क रूपमा ’एकतर्फी यात्रा अनुमतिपत्र’ पीडितले दिएको ठेगानामै पठाइदिने व्यवस्था गरेको छ ।
यसैबीच दूतावासले छिटो र धेरै पैसा कमाउने लोभमा मानव तस्करको प्रलोभनमा नपर्न सर्वसाधारणलाई सचेत गराएको छ ।