काठमाडौँ । बर्दिया लगायतका जिल्लाहरूमा पछिल्लो समय बाघको आक्रमणबाट मानवीय क्षति हुने क्रम बढेपछि पीडित र अधिकारकर्मीहरूले काठमाडौँमा दबाबमूलक प्रदर्शन गरेका छन् । शान्तिवाटिकाबाट सुरु भएको शान्तिपूर्ण र्यालीले रानीपोखरी परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले संरक्षणको नाममा जनताको ज्यान जोखिममा पार्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराए । उनीहरूले “संरक्षणसँगै जनताको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नु सरकारको पहिलो दायित्व भएको” बताए ।
कोणसभामा उठाइएका मुख्य मागहरू निम्न छन्:
वन्यजन्तु व्यवस्थापन: बाघको संख्या बढी भएका क्षेत्रबाट अन्यत्र स्थानान्तरण गरी जनघनत्व कम गरिनुपर्ने।
कानुनी सुधार: निकुञ्जसम्बन्धी विद्यमान ऐन-नियममा संशोधन गरी मध्यवर्ती क्षेत्रको अवधारणा खारेज गर्नुपर्ने।
पारदर्शिता: विगतदेखि हालसम्म कार्यरत संरक्षणकर्मीहरूको सम्पत्ति छानबिन हुनुपर्ने।
राजनीतिक प्रतिबद्धता: राजनीतिक दलहरूले आफ्नो घोषणापत्रमा राष्ट्रिय निकुञ्ज र वन्यजन्तु व्यवस्थापनबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने।
कृषि मापदण्ड: उखु खेतीका कारण बाघ लुक्ने ठाउँ बढेको भन्दै चिनी मिलहरूले किसानलाई उखु खेतीका लागि विशेष सुरक्षा मापदण्ड तोक्नुपर्ने ।
आन्दोलनकारीहरूले यो पहिलो चरणको कार्यक्रम मात्र भएको र मागहरू पूरा नभए आगामी दिनमा दोस्रो चरणका थप सशक्त कार्यक्रमहरू सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।