नीति शाहको विवाहको प्रशंसा गर्दै ज्योती मगरको पुजा शर्मालाई कटाक्ष:’भव्य देखिन हेलिकोप्टर होइन, खानदान चाहिन्छ’

काठमाडौँ । आफ्नो स्पष्ट र निडर अभिव्यक्तिका कारण चर्चामा रहने गायिका ज्योती मगरले नायिका नीति शाहको विवाहको प्रसंगलाई लिएर सामाजिक सञ्जालमा रोचक टिप्पणी गरेकी छन् ।

शनिबार फेसबुकमा एक पोस्ट गर्दै ज्योतीले नीति शाहको विवाहको भव्यतालाई लिएर अर्की एक नायिका (पूजा शर्मा) प्रति लक्षित गर्दै कटाक्ष गरेकी हुन् । यद्यपि, उनले पूजाको नाम भने स्पष्ट रूपमा उल्लेख गरेकी छैनन् ।

नीति शाहको विवाह राजकीय र भव्य देखिएको चर्चा गर्दै उनले विवाहमा तामझाम भन्दा पनि ‘वर्ग’ (Class) झल्किनु पर्ने तर्क गरिन् । उनले लेखेकी छन्: “विवाह राजकीय र भव्य देखिन हेलिकोप्टर होइन, खानदान म्याटर गर्दो रहेछ भन्ने नीतिको बिहे हेरेर थाहा भयो ।”

पूजा शर्माको विवाहमा प्रयोग भएको हेलिकोप्टर र तामझामलाई संकेत गर्दै उनले अगाडि लेखेकी छन्, “पैसाले मातिएका ‘हेलिकोप्टरे’ सेलिब्रेटीहरूले जति नै तडकभडक गरे पनि स्वाङभन्दा भ्वाङ ठूलो जस्तो लाग्छ हामी गरिबलाई । ”

आफ्नो स्वभावै अनुसार व्यङ्ग्यात्मक शैलीमा उनले थपेकी छन्, “रोयल खानदान पनि नभएको, स्वाङ पार्ने पैसा पनि नभएको हामीजस्ता गरिबको कामै अरूको हेर्ने र कुरा काट्ने हो । माइन्ड नगर्नु है, कसैसँग मेल खाएमा यो गरिबलाई माफ गरिदिनुहोला ।”

हिजो मात्रै नीति शाह र व्यवसायी आत्मन राठीबीच भव्य समारोहका साथ विवाह सम्पन्न भएको थियो । सोही विवाहको तस्बिर र भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहँदा ज्योतीको यो टिप्पणीले थप चर्चा पाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै