काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो ७ महिनामा राजधानीमा मात्रै पठाओ–इनड्राइभजस्ता राइडमा अफलाइन सेवा चलाउने १ हजार ५२ जनालाई कारबाही गरेको छ । अहिले अफलाइन बसेर सेवा दिन खोज्न त्यस्ता चालकलाई ड्युटीमै खट्ने प्रहरीबाट कारबाही गर्न सकिने व्यवस्था मिलाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दका अनुसार अफलाइन बसेर सेवा दिन खोज्नेहरूमध्ये १८८ जनालाई साउनमा, १ ५४ जनालाई भदौमा, १२६ जनालाई असोजमा, ९५ जनालाई कार्तिकमा, १३५ जनालाई मंसिरमा, २६१ जनालाई पुसमा र ९३ जनालाई माघमा कारबाही गरेको छ ।
सार्वजनिक सवारी कम चलेको दिन, पानी परेको दिन राइड शेयरिङ कम्पनीले अन्य समयभन्दा बढी रकम असुलेर ग्राहकको बाध्यतामा खेल्ने गरेको गुनासो पनि छ । उनीहरूले लाग्ने र उल्लेख भएको भन्दा बढी रकम असुल्ने गरेको धेरैको अनुभव छ ।
काठमाडौं उपत्यकासहित देशका प्रमुख सहरमा राइड शेयरिङ एपको प्रयोग अहिले बढ्दो छ । सन् २०१६ मा नेपालमा पहिलो पटक राइड सेयरका रूपमा टुटल सञ्चालनमा आएको थियो । अहिले सहरी क्षेत्रमा पठाओ–इनड्राइभजस्ता राइड यात्रुहरूले यात्राको सहज साधनका रूपमा लिने गरेका छन् । तर साँझको बेला राइड सेवा अनलाइनमा पाउनै मुस्किल हुने प्रयोगकर्ता बताउँछन् । पाइहाले पनि अफलाइन सेवा मात्र भेटिन्छन् । अफलाइन यात्रा गर्दा धेरै पैसा तिर्नुपर्ने त छँदैछ सुरक्षा पनि नहुँने उनीहरूको गुनासो छ।
भनेकै समयमा र भनेकै ठाउँबाट सुरक्षित रूपमा गन्तव्यमा पुग्ने सुविधाका साथै राइडरका लागि पनि मन लागेका वा फुर्सदका समयमा काम गर्न पाउने सुविधा यही व्यवसायले दिएको छ। तर पठाओ– इनड्राइभको संख्या बढेसँगै अपराधका घटनाहरू पनि बढ्दै गएका छन् ।