हेडसरको कार्यकक्षमै ‘चुप्पा’ गरेको भाइरल भिडियोको वास्तविकता के हो ?

काठमाडौँ । नेपाली सोसल मिडिया टिकटक र फेसबुकको रिल्समा प्रयोगकर्तामाझ हिजो बुधबारदेखि एउटा भिडियो फैलिइरहेको छ, जसमा एक विद्यालयमा शिक्षक र शिक्षिका प्रधानाध्यापकको कक्षमा नै अश्लील हर्कत ‘चुम्माचाटी’ गरिरहेको देखिन्छन् । धेरैले यसलाई नेपालकै जस्तो गरी आ–आफ्नो प्लेटफर्ममा शेयर गरिरहेका छन् । तर, यो नेपालको कुनै विद्यालयको भने होइन । भिडियोको साइनो नेपालसँग छैन ।

भारतीय मिडियाका अनुसार, अहिले फैलिरहेको यो भिडियो फुटेज भारत राजस्थानको चित्तौडगढको हो । भिडियो फुटेजमा सरकारी विद्यालयका शिक्षक र शिक्षिका विद्यालयको प्रिन्सिपल चेम्बरमा ‘अश्लील हर्कत’ गर्दै गरेको देखिन्छन् । उनीहरूको हर्कत सबै सीसीटीभी क्यामेरामा कैद भएको थियो ।

यो घटना जनवरी दोस्रो सातातिरको हो । गत साता भारतीय सोसल मिडिया प्रयोगकर्तामाझ यो भिडियो ‘भाइरल’ बनेको थियो । भिडियोमा देखिएका शिक्षक अरबिन्द व्यास र शिक्षिका कान्ता पाण्डिया रहेको भारतीय मिडिया नवभारत टाइम्सले लेखेको छ ।

दुवै जना राजकीय उच्च प्राथमिक विद्यालय आजोलियाको खेडा, पञ्चायत समिति गंगरारमा कार्यरत थिए ।
यो गतिविधिलाई ‘माफी दिन नसकिने घृणित र अश्लील हर्कत’ भन्दै उनीहरूलाई राज्यको शिक्षा विभागले सरकारी सेवाबाट बर्खास्त गरिसकेको छ । चित्तौडगढ जिल्ला शिक्षा अधिकारीले उनीहरूलाई बर्खास्त गर्ने निर्देशन जारी गरेका थिए ।

सोसल मिडियामा भिडियो भाइरल भएपछि १८ जनवरीमा दुवैलाई शिक्षा विभागले निलम्बित गरेको थियो । उनीहरूलाई २० जनवरीसम्म स्पष्टीकरण दिन समय पनि दिइएको थियो । तर, अरविन्दले कुनै जवाफ दिएनन् भने शिक्षिकाले भिडियोलाई सम्पादन गरी भाइरल गराइएको दाबी गरेकी थिइन् । तर, छानबिन समितिले दुई जनाको कृत्यलाई घृणित भन्दै बर्खास्त गर्न सिफारिस गरेको थियो ।

बर्खास्त गर्ने आदेशमा उनीहरूको कामले राजस्थानको छवि देशभर धुमिल भएको उल्लेख छ । ‘जुन सीसीटीभी फुटेज सोसल मिडियामा भाइरल भयो, यो देशभर फैलिएको छ । राष्ट्रियस्तरका समाचारपत्र र टीभी च्यानलको चर्चामा पनि यही घटनालाई लिएर समाचार प्रकाशित, प्रसारित छन् । यसबाट राजस्थानले लज्जित हुनुपरेको छ । यस कृत्यमा माफी दिन सकिँदैन,’ आदेशमा भनिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै