वीरगञ्ज । वीरगञ्ज हुँदै चालू आर्थिक वर्षको छ महिनामा ९० अर्ब छ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
वीरगञ्ज नाका हुँदै गत आवको छ महिनाको तुलनामा चालू आवमा सोही अवधिमा दुई अर्ब ७५ करोड बढी मूल्यको पेट्रोलियम पदार्थ आयात भएको हो ।
चालू आवको छ महिनामा पेट्रोलियम पदार्थको आयातबाट भने ३७ अर्ब ८५ करोड राजस्व संकलन भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आवको छ महिनाको तुलनामा चालू आवको सोही अवधिमा पेट्रोलिम पदार्थको आयात र सोबाट प्राप्त हुने राजस्वमा पनि उल्लेखनीय वृद्धि भएको छ ।
जबकि, गत आवको छ महिनामा भने ८७ अर्ब ३१ करोड मूल्यको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड राजस्व संकलन भएको थियो ।
भन्सार कार्यालयका अनुसार चालू आवको छ महिनामा ४५ अर्ब ३८ करोड मूल्य पर्ने डिजेल आयात हुँदा १९ अर्ब ८५ करोड राजस्व संकलन भएको छ । त्यसैगरी सोही अवधिमा २० अर्ब ९८ करोड मूल्यको पेट्रोल आयात हुँदा १३ अर्ब ८२ करोड राजस्व संकलन भएको छ ।
त्यस्तै, १४ अर्ब ७९ करोडको एलपीजी ग्यास आयात हुँदा दुई अर्ब ७७ करोड राजस्व संकलन भएको छ ।